Sagun Khabar
लाइन व्यवस्थित नहुँदा विद्युतीय दुर्घटनाको जोखिम बढ्यो, करेन्ट लागेर एक महिला घाइते  

बैतडी–बैतडीको पाटन नगरपालिका–२ सिलंगा निनतोलामा विद्युतीय लाइन व्यवस्थित नहुँदा दिनानुदिन विद्युतीय दुर्घटनाको जोखिम बढ्दै गएको छ । 

गाउँमा विस्तार गरिएको मेनलाइनकै तार हातले छुन सक्ने उचाइँमा भएकाले विद्युतीय दुर्घटनाको जोखिम बढेको स्थानीयहरुले बताएका छन् । घरको आँगनमै समेत विद्युतका तार हातले छोइने अवस्थामा रहेका छन् । 

Atrya hospital

बिहीबारमात्रै आँगनमा गाईलाई बाध्ने क्रममा तारमा छोइएर करेन्ट लाग्दा एक महिला समान्य घाइते भएकी छन् । स्थानीय कविता पन्तलाई करेन्ट लागेको हो । करेन्टको धक्काले उनी लडेर समान्य घाइते भएकी छन् । उनको दाहिने हातमा चोट लागेको छ । 

निनतोलामा गाउँमा ५–७ परिवार विद्युतीय दुर्घटनाको उच्च जोखिममा रहेका पन्तले बताइन् । खेतबारी र घरआँगनबाटै तानिएका तार हातले छोइने अवस्थामा रहेका उनले बताइन् । 

उक्त विद्युत लाइन व्यवस्थित गर्न लागि बारम्बार सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएको उनले गुनासो गरिन् । उनले भनिन् ‘हामीले विद्युत लाइन व्यवस्थित गर्न पटक–पटक आग्रह गरिसकेका छौं । वडा,पालिका, विद्युत कार्यालय सबैमा जानकारी गराउँदा समेत हाम्रो समस्याको सुनुवाई भएको छैन् । हामी विद्युतीय दुर्घटनाको जोखिममा छौं तर पनि कसैको ध्यान जान सकेको छैन् ।’

गाउँमा विद्युतको लाइन व्यवस्थित नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको स्थानीय गणेश पन्तले बताए । आजमात्रै एकजनालाई करेन्ट लागेर समान्य घाइते भएका उनले बताए । तार व्यवस्थित नगरेमा भोलिका दिनमा अप्रिय घटना हुन सक्ने उनले बताए । 

जिल्लाका विभिन्न स्थानमा लामो लाइन भएका कारण लाइन व्यवस्थापनमा समस्या भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए । लाइन व्यवस्थित नभएका ठाउँको तथ्यांक संकलन गर्ने कार्य भइरहेको र समस्या भएका ठाउँमा सुधार गरिने उनले बताए । उनले भने ‘हामीले लाइन व्यवस्थापनको काम गर्ने भनेका छौं ।अहिले पनि बर्षातका कारण मेन लाइन सुचारुमै समय गइरहेको छ । लाइन व्यवस्थित नभएका ठाउँमा हामी केही दिनभित्रै सुधार गर्छौ ।’

पाटनको हकमा लाइन व्यवस्थित नभएका ठाउँको तथ्यांक आएको र समस्या भएका ठाउँमा लाइन सुधार गरिने वितरण केन्द्र प्रमुख पौडेलले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update