Sagun Khabar
प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लागेको ‘ठूली जात’सकियो 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लागेको जात्रा अर्थात ‘ठूली जात’ आज सकिएको छ ।  

भाद्र शुक्ल द्वादशीका दिनबाट शुरु भएको जात्रा आज भाद्र शुक्ल पूर्णिमाका दिन सकिएको मन्दिरका मूल पूजारी देवदत्त भट्टले बताए । 

अनन्त चतुर्दशीको अवसरमा लाग्ने यो जात्रालाई स्थानीयहरुले ठूली जात भन्ने चलन रही आएको पूजारी भट्टले बताए । 

Atrya hospital

भाद्र शुक्ल द्वादशीका दिन मन्दिरको भण्डार घरबाट माताको सवारी मन्दिरमा गराएसंगै विधिवत रुपमा जात्रा शुरु हुने र भाद्र शुक्ल पूर्णिमाको बिहान भण्डारघरमा भण्डार पुर्याएपछि जात्रा समापन हुने गरेको पूजारी भट्टले बताए । 

जात्रामा हजारौं दर्शनार्थीले माता निङ्गलाशैनी भगवतीको दर्शन गरेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका कोषाध्यक्ष एवं मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । निङ्गलाशैनी भगवती मन्दिरमा बर्षको चार पटक जात्रा लाग्ने गरेकोमा यो जात्रालाई ठूली जात भन्ने चलन रही आएको उनले बताए । 

ठूलीजात बैतडा–स्वराडीकी जात मुख्य आकर्षण रहेको बताइएको छ । भाद्र शुक्ल चतुर्दशीका दिन बैतडीको स्वराड क्षेत्र र सदरमुकाम क्षेत्रबाट ठकुरीहरुले निङ्गलाशैनी भगवती मन्दिरमा बाजागाजासहित जात्रा ल्याउने चलन रही आएको छ । परापूर्वकालदेखिको यो चलन अहिले पनि कायमै रहेको छ । 

जात्राको अवसरमा ठाडो खेल, ढुस्को र देउडा समेत सञ्चालन भएको निङ्गलाशैनी मेला व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज बोहराले बताए । जात्राको अवसरमा सञ्चालनमा भएको देउडामा स्थानीयहरु रमेका उनले बताए । 
निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने ठूलीजातमा हरेक बर्ष देउडाको रौनक हुने गरेको उनले बताए । देउडामा जिल्लाका मात्रै नभएर जिल्ला बाहिरका देउडीयाहरुको समेत सहभागिता रहने गरेको कोषाध्यक्ष बोहराले बताए । 
मन्दिरमा लागेको जात्रालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि यो बर्ष सिसिटीभी क्यामेराबाट जात्रामा भइरहेका गतिविधिको अवलोकन गरिएको थियो । जात्रामा कुनै पनि अप्रिय घटना नहोस भनेर यस्तो गरिएको बोहराले बताए । 

निङ्गलाशैनी भगवती मन्दिरमा हरेक बर्ष चार पटक जात्रा लाग्ने गर्दछ । महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने भएपनि अनन्त चतुर्दशी र धान्य पूर्णिमाका दिन लाग्ने मेलामा भने बलि दिने चलन नरहेको पूजारी भट्टले बताए । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा व्यापार व्यवसायका लागि भारतीय व्यपारीहरु समेत पुगेका छन् । भारतको दिल्ली अल्मोडा लगायतका क्षेत्रबाट व्यापारीहरु पुगेर व्यापार गर्ने गर्दछन् । 

यस्तै यो जात्रामा स्थानीय उत्पादनहरुले पनि बजार पाउने गरेको छ । स्थानीयहरुले उत्पादन गरेका कृषि उपजका साथै बाँस, निगालोबाट बनेका सामग्रीहरु समेत जात्रामा विक्रि वितरण गरेको स्थानीय समेत रहेका शिक्षक तिलक बोहराले बताए ।
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update