Sagun Khabar
प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा ‘ठूली जात’को रौनक 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका –२ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लागेको ठूली जातको रौनक जारी रहेको छ । देहीमाण्डौं क्षेत्रमा ठूली जातको रौनक रहेको स्थानीय बासिन्दाहरुले बताएका छन् । 

निङ्गलाशैनी भगवती मन्दिरमा भाद्र शुक्ल द्वादशीबाट अनन्त चतुर्दशीको मेला लाग्ने गर्दछ । अनन्त चतुर्दशीको अवसरमा आज स्वराड क्षेत्र र बैतडी सदरमुकाम क्षेत्रबाट जात्रा ल्याउने प्रचलन रही आएको निङ्गलाशैनी भगवती मन्दिरका मूल पूजारी देवदत्त भट्टले बताए । भदौ शुक्ल त्रयोदशीका दिन नानी जात र भदौ शुक्ल चतुर्दशी अर्थात अनन्त चतुर्दशीका दिन लाग्ने जात्रालाई ठूली जात भन्ने चलन रही आएको छ । यो जात्राको मुख्य आकर्षण स्वराड–बैतडी जात्रा आकर्षण रहेको उनले बताए । 

स्वराड क्षेत्रबाट र बैतडी सदरमुकाम क्षेत्रबाट ठकुरी समुदायका व्यक्तिहरुले मन्दिरमा जात्रा ल्याउने चलन रही आएको छ । मन्दिरको प्रांगणमा जात्रा पुग्दा कुहिरो लाग्छ भन्ने मान्यता रही आएको छ । 

Atrya hospital

निङ्गलाशैनी भगवतीले न्याय दिएको हुनाले यो जात्रामा स्वराड क्षेत्र र सदरमुकाम क्षेत्रबाट जात्रा ल्याउने प्रचलन बसेको मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । 

जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुगेका छन् । अनन्त चतुर्दशीको अवसरमा लागेको भाद्र शुक्ल पूर्णिमाको बिहान समापन हुने मन्दिरका पूजारी भट्टले बताए । 

जात्राको अवसरमा देउडा समेत हुने गरेको छ । स्थानीयहरुले जात्रामा देउडा खेल्ने गरेका छन् । यस्तै मन्दिर परिसरमा राखिएको हिङलोमा पिङ खेलेर रमाइलो गर्ने गर्दछन् । 

निङ्गलाशैनी भगवती मन्दिरमा हरेक बर्ष चार पटक जात्रा लाग्ने गर्दछ । यो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत दर्शनका लागि पुग्ने गर्दछन् । महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने भएपनि अनन्त चतुर्दशी र धान्य पूर्णिमाका दिन लाग्ने मेलामा भने बलि दिने चलन नरहेको पूजारी भट्टले बताए । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा व्यापार व्यवसायका लागि भारतीय व्यपारीहरु समेत पुगेका छन् । भारतको दिल्ली अल्मोडा लगायतका क्षेत्रबाट व्यापारीहरु पुगेर व्यापार गर्ने गर्दछन् । 

यस्तै यो जात्रामा स्थानीय उत्पादनहरुले पनि बजार पाउने गरेको छ । स्थानीयहरुले उत्पादन गरेका कृषि उपजका साथै बाँस, निगालोबाट बनेका सामग्रीहरु समेत विक्रि वितरण हुने गरेको स्थानीय समेत रहेका शिक्षक तिलक बोहराले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update