Sagun Khabar
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशी मेला शुरु

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्रा शुरु भएको छ । अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेला भाद्र शुक्ल द्वादशीबाट शुरु भएको निङ्गलाशैनी भगवती मन्दिरका मूलपूजारी देवदत्त भट्टले जानकारी दिए । भाद्र शुक्ल द्वादशीका दिन निङ्गलाशैनी भगवती मन्दिरको भण्डार घरबाट मन्दिरमा भण्डार ल्याउने प्रचलन रहेको उनले बताए । सोही प्रचलन अनुसार आज भण्डार घरबाट माताको सवारी मन्दिरमा गराइएको उनले बताए । 

भाद्र शुक्ल द्वादशीबाट जात्रा शुरु हुने र तीनरात जाग्राम बस्ने भक्तजनहरुले आजैदेखि मन्दिरमा बस्न शुरु गरेको पूजारी भट्टले बताए । चतुर्दशीको अवसरमा लाग्ने मेलामा बैतडीको स्वराड र सदरमुकाम क्षेत्रबाट ठकुरीहरुले जात्रा ल्याउने प्रचलन रही आएको छ । परापूर्वकालमा निङ्गलाशैनी भगवतीले न्याय दिएको हुनाले दुवै क्षेत्रबाट जात्रा ल्याउने चलन रही आएको हो । यो जात्राको मुख्य आकर्षण भनेकै स्वराडी–बैतडाको जात रहेको उनले बताए । 

Atrya hospital

भदौ शुक्ल त्रयोदशीका दिन स्थानीय भाषामा नानी जात भन्ने चलन रही आएको छ भने भदौ शुक्ल चतुर्दशीका दिन लाग्ने मेलालाई ठूली जात भन्ने चलन रही आएको निङ्गलाशैनी भगवतीका भण्डारे चक्रबहादुर बोहराले बताए । 

निङ्गलाशैनी भगवती मन्दिरमा बर्षको चार पटक जात्रा लाग्ने गर्दछ । यो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत दर्शनका लागि पुग्ने गर्दछन् । महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने भएपनि अनन्त चतुर्दशी र धान्य पूर्णिमाका दिन लाग्ने मेलामा भने बलि दिने चलन नरहेको भण्डारे बोहराले बताए । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 

जात्रालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको बोहराले बताए । अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलामा देउडा समेत हुने गरेको छ । 

jat-1-1726393098.jpg
 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update