Sagun Khabar
निरन्तर संस्कृत बिषय पढाउँदै शंकर संस्कृत मावि 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ स्थित शंकर संस्कृत मावि मूलखटालीले निरन्तर रुपमा संस्कृत बिषयको अध्ययन अध्यापन गराउँदै आएको छ । भाषिक क्षमताको विकासका लागि अब्बल मानिएको संस्कृत बिषय स्थापनाकालदेखि नै विद्यालयमा पठनपाठन भइरहेको विद्यालयका प्रधानाध्यापक रामबहादुर बिष्टले बताए । 

बैतडीको शंकर संस्कृत मावि मूलखटाली र सरस्वती संस्कृत मावि नगतडीमा कक्षा १० सम्म संस्कृत बिषयको पढाई हुने गरेको छ । 

Atrya hospital

कक्षा ६ देखि ८ सम्म अनिवार्य संस्कृत बिषयको अध्यापन गर्दै आएको शंकर संस्कृत माविले पछिल्लो समयमा कक्षा ९ र १० मा साधारणतर्फको पठनपाठन समेत गर्दै आएको प्रधानाध्यापक बिष्टले बताए । 

संस्कृत बिषयमा पहिला राम्रो आकर्षण भएपनि द्वन्दकालपछि संस्कृत पढ्ने विद्यार्थीको संख्या कम हुँदै गएको विद्यालयका शिक्षक परमानन्द अवस्थीले बताए । उनले भने ‘अहिले हाम्रो विद्यालयमा साधारणतर्फको पनि पढाई भइरहेको छ । कक्षा ९ र १० मा संस्कृतका साथसाथै साधारणतर्फ पनि पढाई भइरहेको छ ।’

पछिल्ला केही बर्षयता भने संस्कृत बिषयको पठनपाठनलाई विस्तार गर्नुपर्ने आवाज उठ्दै गएको शिक्षक अवस्थीले बताए । संस्कृत शिक्षाले नैतिकवान नागरिक उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । 

वि.सं. २००९ सालमा स्थापना भएको शंकर संस्कृत माविमा २०३५ सालदेखि माध्यमिक तहको पढाई हुँदै आएको छ । हाल विद्यालयमा कक्षा १२ सम्मको पढाई भइरहेको भएपनि संस्कृत बिषय भने कक्षा १० सम्म मात्रै पढाई हुने गरेको छ । 

कक्षा ९ र १० मा संस्कृत भाषा र संस्कृत साहित्यको पढाई हुने गरेको प्रधानाध्यापक बिष्टले बताए । संस्कृत पढ्ने विद्यार्थीहरुलाई विद्यालयले हरेक बर्ष प्रोत्साहनस्वरुप पुरस्कार समेत प्रदान गर्दै आएको छ । उनले भने ‘संस्कृत पढ्ने विद्यार्थीहरुलाई हामीले प्रोत्साहन गर्दै आएका छौं । हरेक बर्ष बार्षिकोत्सवका दिन संस्कृत पढ्ने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्दै आएका छौं ।’

संस्कृत बिषय भाषाको विकासका लागि निकै राम्रो बिषय भएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । मानवको दैनिक आचारणलाई सुधार गर्न समेत संस्कृत शिक्षाको महत्वपूर्ण भूमिका हुने उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update