Sagun Khabar
बैतडीमा आत्महत्याका घटना बढ्दै, तीन बर्षमा ९३ जनाले आत्महत्या गरे 

बैतडी–बैतडीमा आत्महत्याका घटना बढ्दै गएका छन् । आत्महत्या रोकथामका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएपनि आत्महत्याका घटनाका कमी आउन सकेको छैन् । 

पछिल्लो तीन बर्षमा बैतडीमामात्रै ९३ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक बर्ष २०७८÷७९ मा १२ महिला र २४ पुरुष गरेर ३६ जनाले आत्महत्या गरेका थिए । ती मध्ये ३० जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने ६ जनाले बिष सेवन गरेर आत्महत्या गरेका छन् । 

Atrya hospital

यस्तै आर्थिक बर्ष २०७९÷८० मा १३ महिला र १२ पुरुष गरेर २५ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । यस्तै गत आर्थिक बर्षमा १६ महिला र १६ पुरुष गरेर ३२ जनाले आत्महत्या गरेका छन् । 

चालु आर्थिक बर्षको साउन महिनामामात्रै ७ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

पछिल्लो समयमा आत्महत्या गर्नेमा किशोरावस्थाका मानिसहरुको संख्या बढ्दै गएको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए । आत्महत्या रोकथामका लागि प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भएपनि अभिभावकहरुले समेत यसमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । 

आत्महत्या रोकथामका लागि पारिवारिक सम्वादको वातावरण आवश्यक रहेको जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक पृथ्वीराज अवस्थीले बताए । किशोरावस्थाका छोराछोरीहरुसंग आमा–बुवाको निरन्तर सम्वाद हुनुपर्नेमा उनले जोड दिए । 

आत्महत्या मानसिक स्वास्थ्यको समस्याका कारण बढ्दै गएकाले मानसिक स्वास्थ्यका कार्यक्रम विस्तार गरिनुपर्ने पाटन नगरपालिकाकी जनस्वास्थ्य निरीक्षक दमन्ती ऐरले बताइन् । उनले भनिन् ‘हामीले स्वास्थ्य भनेर शारीरिक स्वास्थ्यलाई मात्रै हेरिरहेका छौं । मानसिक स्वास्थ्यका बिषयमा हामीले त्यति ध्यान दिन सकेका छैनौं । त्यसैले आत्महत्या रोकथामका लागि मानसिक स्वास्थ्यका कार्यक्रमहरुलाई विस्तार गर्नु जरुरी छ ।’

आत्महत्या रोकथामका लागि प्रहरीले वडा तहमै आत्महत्या रोकथाम तथा न्यूनीकरण कार्यदल समेत गठन गर्दै आएको छ । कार्यदलमार्फत आत्महत्या रोकथामका बिषयमा जनचेतना फैलाउने गरेको प्रहरी निरीक्षक पाण्डेयले बताए । उनले भने ‘हामीले आत्महत्या रोकथामका लागि प्रयास गरिरहेका छौं । तर आत्महत्याका घटनामा कमी आउन सकेको छैन् । यसका लागि सर्वपक्षीय प्रयास आवश्यक छ ।’
 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update