Sagun Khabar
यी हुन् बैतडीका १० जना उत्कृष्ट स्वास्थ्यकर्मी 

बैतडी –बैतडीमा १० जना उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको छ । स्वास्थ्य कार्यालय बैतडीले बार्षिक समीक्षा आयोजना गरेर उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको हो । 

गत आर्थिक बर्षको कार्यसम्पादनका आधारमा १० ओटै स्थानीय तहबाट एक÷एक जना गरेर १० जना उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए । 

कार्यसम्पादनको स्तर उच्च भएका, कामप्रतिको लगनशीलता, कार्यालयमा नियमित उपस्थिती, कार्यालय तथा माथिल्लो निकायसंगको समन्वय र सहकार्य, आर्थिक तथा प्रशासनिक पारदर्शीता र जवाफदेहिता, आफ्नै प्रयासमा स्वास्थ्य सेवा सुधारमा नौलो अभ्यासको थालनी लगायतका मापदण्डको आधारमा उत्कृष्ट स्वास्थ्यकर्मी छनौट गरिएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए । 

Atrya hospital

भाद्र दोश्रो साता आयोजना गरिएको जिल्लास्तरीय बार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई सम्मान पत्र र दोसल्लासहित सम्मान गरिएको सूचना अधिकारी लेखकले जानकारी दिए । 

पञ्चेश्वर स्वास्थ्यचौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक सुरेश सार्की र सुर्नया गाउँपालिकाको भौनेली स्वास्थ्यचौकीमा कार्यरत सिनियर अहेव सुरेन्द्रसिंह महरा लगातार दुई पटक उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा सम्मानित भएका छन् । उनीहरु दुवै जना आर्थिक बर्ष २०७९÷८० मा पनि उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा सम्मानित भएका थिए । गत बर्षको कार्यसम्पादनमा पनि दुवै पालिकाबाट उनीहरु दुवैजना उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा सम्मानित भएका सूचना अधिकारी लेखकले जानकारी दिए । 

यस्तै पुर्चौंडी नगरपालिकाको कोटिला स्वास्थ्यचौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक सुमन लुहार, पाटन नगरपालिकाको सकार स्वास्थ्यचौकीमा कार्यरत सिनियर अहेव नरेन्द्र भट्टराई, दशरथचन्द नगरपालिकाको दुर्गाभवानी स्वास्थ्यचौकीमा कार्यरत सिनियर अहेव चम्पकराज जोशी र मेलौली नगरपालिकाको आधारभूत स्वास्थ्य केन्द्र कोटीगाउँमा कार्यरत अहेव दिपकप्रसाद बाग उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा सम्मानित भएका छन् । 

यस्तै शिवनाथ गाउँपालिकाको उदयदेव स्वास्थ्यचौकीमा कार्यरत अहेव खकेन्द्रसिंह महता, दोगडाकेदार गाउँपालिकाको कटौजपानी स्वास्थ्यचौकीमा कार्यरत सिनियर अहेव महेशसिंह बिष्ट, डिलाशैनी गाउँपालिकाको बरम आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेव किरणबहादुर बोहरा र सिगास गाउँपालिकाको थालाकाँडा स्वास्थ्यचौकीमा कार्यरत सिनियर अहेव दिपेन्द्रबहादुर रोकाया पनि सम्मानित भएका छन् । 

स्वास्थ्य कार्यालयले गरेको सम्मानले आफूहरुलाई कार्यक्षेत्रमा डटेर लाग्न थप हौसला मिलेको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताए । दुर्गमको स्वास्थ्य संस्थाबाट नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन आफू सदैव लागिपर्ने उनको भनाइ छ । 

स्वास्थ्य कार्यालयले गरेको सम्मानले स्वास्थ्यको क्षेत्रमा दत्तचित्त भएर लाग्न थप प्रेरणा मिलेको भौनेली स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताए । 

स्वास्थ्य कार्यालय बैतडीले हरेक बर्ष उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्दै आएको छ । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्इ सेवा प्रदानमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको स्वास्थ्य प्रमुख भट्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update