Sagun Khabar
डुंगाबाट जोखिम मोलेर महाकाली तर्दै तल्लोसोराडबासी, पुल बनाउन भारतले दिएन सहमति 

बैतडी –बैतडीको तल्लोसोराड क्षेत्रका नागरिक महाकाली नदीमा डुंगाकै भरमा जोखिम मोलेर वारपार गर्न बाध्य भएका छन् । महाकाली नदीमा झोलुंगे पुल नहुँदा बर्षौंदेखि डुंगाबाट जोखिम मोलेर महाकाली नदी वारपार गर्नुपर्ने बाध्यता रही आएको छ । 

पञ्चेश्वर गाउँपालिका १ स्थित रोलघाटमा पुल निर्माणका लागि चर्चा भएपनि भारतले सहमति नदिँदा पुल निर्माण नभएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । सीमा नदी भएकाले महाकालीमा पुल बनाउन भारतको सहमति आवश्यक हुन्छ । तर भारतीय पक्षले महाकाली नदीमा पुल निर्माणका लागि सहमति नदिँदा समस्या भएको अध्यक्ष चन्दले बताए । 

महाकाली नदीमा पुल निर्माणको काम अघि बढाउन माग गर्दै ११ पटक परराष्ट्र मन्त्रालय पुगेको भएपनि सहमति प्राप्त नभएको अध्यक्ष चन्दले बताए । पञ्चेश्वर गाउँपालिका १ रोलघाट क्षेत्रमा पुल झोलुंगे पुल निर्माणका लागि ८ बर्ष अघि विस्तृत अध्ययन प्रतिवेदन तयार भएको थियो । 

Atrya hospital

महाकाली नदीमा झोलुंगे पुल निर्माण नहुँदा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय नागरिक पनि जोखिम मोलेर डुंगाबाटै महाकाली नदी वारपार गर्ने गरेका छन् । 

महाकाली नदीमा १५५ मिटर लम्बाइको झोलुंगे पुल निर्माणको चर्चा भएपनि भारतको सहमति नभएकै कारण काम अघि बढ्न नसकेको अध्यक्ष चन्दले बताए । 

महाकाली नदीमा पुल नभएकै कारण तल्लोसोराड क्षेत्रका नागरिकले अकालमै ज्यान समेत गुमाएका छन् । डुंगा पल्टिँदा धेरैको ज्यान गइसकेको अध्यक्ष चन्दले बताए । 

महाकाली नदीमा पुल निर्माणका बिषयमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्थलगत निरीक्षण गरेर भारतको सहमतिका लागि पहल गर्ने आश्वासन समेत दिएका थिए । तर पुल निर्माण कार्यले सार्थकता पाउन नसकेको अध्यक्ष चन्दले बताए । 

महाकाली नदीमा पुल नहुँदा स्थानीयवासी डुङ्गा र ट्युबका माध्यमबाट जोखिम मोलेर महाकाली वारपार गर्दै आएका छन् । 

सीमावर्ती भारतीय नागरिक समेत नेपालतर्फ रहेका देवीदेवताहरुका मन्दिरमा पूजापाठका लागि आउने गरेका छन् । पुल नहुँदा उनीहरुले समेत सास्ती भोग्दै आएका छन् । 

पञ्चेश्वरमा रहेको प्रसिद्ध देउताल र गणमेश्वर मन्दिरका साथै शिवनाथ धामको दर्शनका लागि भारतबाट हजारौँ तीर्थयात्री डुङ्गा चढेर नेपाल आउने गरेको नागार्जुन मावि शर्मालीका प्रधानाध्यापक महामलसिंह साउँदले बताए । 
एकातिर डुंगामा वारपार गर्नु जोखिमपूर्ण छ भने अर्कोतिर डुंगा चालकहरुले चर्को शुल्क लिने गरेकाले समस्या भएको साउँदले बताए । तल्लोसोराड क्षेत्रका अधिकांश मानिस औषधीमूलो देखि लिएर अन्य कामका लागि सीमावर्ती भारतीय बजारमा जाने गरेका छन् तर पुल नहुँदा निकै समस्या झेल्नुपरेको उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update