Sagun Khabar
बैतडीको सुर्नया र पाटन प्रमुख प्रशासकीय अधिकृत विहिन 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका र पाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएका छन् । 

सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोकाको डडेल्धुराको भागेश्वर गाउँपालिकामा सरुवा भएको छ भने पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरीको थप जिम्मेवारी रद्ध गरिएको छ । 

Atrya hospital

ऐरीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको वैशाख १३ मा जिल्ला समन्वय समितिमा दरबन्दी रहने गरेर पाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको समेत थप जिम्मेवारी दिएको थियो । 

मन्त्रालयले भदौ ११ गते ऐरीलाई दिएको थप जिम्मेवारी रद्ध गरेपछि पाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको हो । 

सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोकालाई गएको फागुन ९ गते संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा खटाएको थियो । 

गाउँपालिकामा झण्डै ५ महिना काम गरेका रोकाको सरुवा भएपछि उनी गएको बिहीबार रमाना लिएर गइसकेका छन् । मन्त्रालयले उनलाई भदौ ७ गते सरुवा गरेको हो । 

रोकाको सरुवा भएसंगै सुर्नया गाउँपालिका पनि प्रमुख प्रशासकीय अधिकृत विहिन भएको छ । स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत धेरै समय नटिक्दा समस्या हुने गरेको छ । 

तत्कालका लागि पाटन नगरपालिका र सुर्नया गाउँपालिकामा आर्थिक तथा प्रशासनिक कामहरु प्रभावित भएका छन् । दुवै पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत को आउने भन्ने टुंगो लागेको छैन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update