Sagun Khabar
सुर्नयाले गर्यो स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समीक्षा 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समीक्षा सम्पन्न गरेको छ । गत आर्थिक बर्षमा पालिकाभरी सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरुको आइतबार समीक्षा गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । 

स्वास्थ्यका क्षेत्रमा पालिकाभरी सञ्चालन भएका कार्यक्रमहरुको प्रभावकारिता, उपलब्धी र समस्याहरुका बारेमा समीक्षामा छलफल गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

Atrya hospital

गाउँपालिकाभरी रहेका १५ ओटै स्वास्थ्य संस्थाका प्रमुखहरुको सहभागिता रहेको समीक्षा कार्यक्रममा सुर्नया गाउँपालिकामा गएको तीन बर्षमा सञ्चालन भएका कार्यक्रमहरुको पनि विश्लेषण गरिएको छ । स्वास्थ्य कार्यक्रमहरुको प्रभावकारिताका बिषयमा जानकारी लिने उद्देश्यसहित विश्लेषण गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

यस्तै पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरुमा देखिएका समस्याहरुको पहिचान र समाधानका लागि अपनाउन सकिने उपायका बिषयमा समीक्षा कार्यक्रममा छलफल गरिएको बताइएको छ । 

समीक्षा कार्यक्रममा चालु आर्थिक बर्षका लागि स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि कार्ययोजना समेत निर्माण गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । पालिकाले सञ्चालन गरेका र सशर्त कार्यक्रमहरुको बिषयमा समीक्षा कार्यक्रममा छलफल भएको भौनेली स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्र महराले बताए । समीक्षा कार्यक्रमले आगामी दिनमा कार्यक्रम सञ्चालनका लागि सहजता हुने उनले बताए । 

समीक्षा कार्यक्रममा गाउँपालिकाका प्रवक्ता प्रताप महरा, वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update