Sagun Khabar
नेपाली शिक्षकको माग गर्दै बैतडीको लेकलुपुँड माविमा विद्यार्थीले गरे तालाबन्दी 

बैतडी–बैतडीको सिगास गाउँपालिका वडा नं ८ स्थित लेकलुपुँड माविमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । कक्षा ६ देखि ८ सम्म पढाउने नेपाली बिषय अध्यापन गराउने शिक्षकको माग गर्दै विद्यार्थीहरुले आइतबार विद्यालयमा तालाबन्दी गरेका हुन् । 

लेकलुँपुड माविमा कक्षा ६ देखि ८ सम्म नेपाली बिषय अध्यापन गराउने शिक्षक देवसिंह धामीको २०७८ फागुनमा सिगास –२ स्थित रण आधारभूत विद्यालयमा काज सरुवा गरिएको थियो । सोही बेलादेखि विद्यालयमा नेपाली बिषय पढाउने शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको छ । 

अहिलेसम्म अर्को शिक्षकको समेत व्यवस्थापन नगरेकाले नेपाली बिषय अध्यापन गराउने शिक्षकको व्यवस्था नहुञ्जेलसम्म विद्यालयमा तालाबन्दी गरिएको विद्यार्थीहरुले बताएका छन् । 

Atrya hospital

यसअघि भदौ ५ गते पनि विद्यार्थीहरुले विद्यालयमा शिक्षकको माग गर्दै तालाबन्दी गरेका थिए । त्यो दिन शिक्षकको व्यवस्थापन गर्ने सहमति भएपछि तालाबन्दी खोलिएको थियो । 

तर नेपाली बिषय पढाउने शिक्षकको व्यवस्थापन नभएको भन्दै विद्यार्थीहरुले आज दोश्रो पटक तालाबन्दी गरेका विद्यालयका शिक्षक उत्तमबहादुर कुँवरले बताए । विद्यार्थीहरुको तालाबन्दीका कारण शिक्षकहरुले समेत हाजिर गर्न पाएका छैनन् । 

लेकलुपुँड माविमा दरबन्दी हुँदाहुँदै जबरजस्ती आफूलाई काज सरुवा गरेको भन्दै शिक्षक देवसिंह धामीले विद्यालयमा फर्कन मानेका छैनन् । यद्यपि उनको काज फिर्ता गरिएको छ । 

२०६१ सालदेखि लेकलुपुँड माविमा कार्यरत रहेका धामीले २०६८ सालदेखि प्रधानाध्यापकको  जिम्मेवारी समेत सम्हालेका थिए । उनले २०७८ माघमा प्रधानाध्यापकको जिम्मेवारी छोडेका थिए । त्यसको एक महिनापछि उनलाई काज सरुवा गरिएको थियो । 

अपमानित तरीकाले आफूलाई विद्यालयबाट काज सरुवा गरेको र अनिवार्य अवकाश पाउन दुई बर्षमात्रै बाँकी रहेकाले आफू लेकलुपुँड माविमा जान नसक्ने शिक्षक धामीले बताएका छन् । 

विद्यालयमा तालाबन्दी गरिएको बिषयमा जानकारी आएको र यो बिषयमा कार्यपालिका बैठकमा छलफल गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भट्टले बताए । उनले विद्यालयमा गरिएको तालाबन्दी खोल्न आग्रह गरिएको बताए । तर विद्यार्थीहरुले भने शिक्षकको व्यवस्थापन नहुँदा सम्म तालाबन्दी जारी रहने बताएका छन् । 

कक्षा १२ सम्मको पढाई हुने उक्त विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेपछि पठनपाठन पूर्ण रुपमा प्रभावित भएको शिक्षक कुँवरले बताए । 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update