Sagun Khabar
अधिकांश ठाउँमा सकियो यो बर्षको गौरा पर्व 

बैतडी–सुदूरपश्चिममा मनाइने मुख्य पर्व गौरा यो बर्ष सकिएको छ । भाद्र कृष्ण पञ्चमीबाट शुरु भएको गौरा पर्व ठाउँ परिवेश अनुुसार फरक–फरक दिन समापन गर्ने गरिन्छ । 

हरेक बर्ष भाद्र शुक्ल अथवा कृष्ण पक्षमा मनाइने गौरा पर्व यो बर्ष भाद्र कृष्ण पक्षमा परेको थियो । भाद्र कृष्ण पञ्चमीका दिन बिरुडापञ्चमीबाट शुरु भएको गौरा अधिकांश ठाउँमा सकिएको स्थानीयहरुले बताएका छन् । 

Atrya hospital

अमुक्ताभरण सप्तमीका दिन भित्र्याएको गौराको बिदाईको दिन गौरा सेलाउने भन्ने चलन रही आएको छ । बैतडीसहित सुदूरपश्चिमका अधिकांश ठाउँहरुमा गौरा सेलाइसकिएको स्थानीयहरुले बताएका छन् ।  

गौराको मुख्यदिन गौराष्टमी अर्थात अठ्यावालीपछि विभिन्न देउखलाहरुमा खेल खेल्ने गरिन्छ । गौरा सेलाउनुभन्दा अघि ती खलाहरुमा ऐतिहासिक ठाडोखेल, ढुस्को, धमारी, चैत खेल्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । 

गौरालाई ब्रतालु महिलाहरुले पूजाआजा गरी बिदाइ गर्ने चलन रही आएको छ । ठाउँ परिवेश अनुसार द्वादशी ÷त्रयोदशीका दिन गौराको बिदाई गर्ने गरिएको लेखकले बताए । 

गौरालाई चेलीबेटीको रुपमा माइत बोलाउने र माइतबाट घर पठाएको दिन विभिन्न सगुन, फाग, बसुधारा गाउने चलन रही आएको छ । लोकको कल्याणका लागि कैलाशबाट माता गौरी मनुष्य लोकमा आएको र बिदाईको दिन उनलाई देवलोकमै पठाएको विश्वास रही आएको छ । 

गौरा पर्व समापनको दिन ब्रतालु महिलाहरुले रनभङिलो गाएर गौराको बिदाई गर्ने चलन रही आएको छ । आगामी बर्ष भदौ महिना बोलाउने बाँचासहित गौराको बिदाई गर्ने गरिएको डडेल्धुराको भागेश्वरका कमला बोहराले बताइन् । 

गौरा पर्व समापन भएपनि गौराकै उपलक्ष्यमा विभिन्न ठाउँमा देउडा कार्यक्रम भने जारी रहेको जनाइएको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update