Sagun Khabar
बाढी र पहिरोले बैतडीको सुर्नयाका विभिन्न स्थानमा क्षति 

बैतडी–गएरातिको भारी बर्षाका कारण आएको बाढी र पहिरोले बैतडीको सुर्नयाका विभिन्न स्थानमा क्षति पुर्याएको छ । सुर्नया गाउँपालिका वडा नं ६ को घोगेडा खोलामा आएका बाढीले त्यहाँका २५ परिवारको मकै र धानबाली नष्ट गरेको स्थानीय जगदीश कुँवरले बताए । 

बर्षाका कारण खोलामा आएको बाढीले स्थानीय शंकर कुँवरको दुई कोठे घर बगाएको छ भने बाटोघाटो पूर्ण रुपमा अवरुद्ध भएको स्थानीय जनकबहादुर कुँवरले बताए । शंकर कुँवरले पालेका एक हल गोरु पनि नपाएकाले खोलाले बगाएको आशंका गरिएको छ । घोगेडा खोलामा आएको बाढीले स्थानीयहरुको मकैबाली र धानखेती पूर्ण रुपमा नष्ट गरेको उनले बताए । 

यस्तै बाढीले खोलामा हालिएका चारओटा पुलहरु जोखिममा परेका छन् । पुलका भित्ताहरु खोलाले बगाइसकेको कुँवरले बताए । उक्त खोलामा रहेका चारओटा पानीका मूहान पूर्ण रुपमा नष्ट भएका छन् । 

Atrya hospital

घोगेडा खोलामै रहेको सैला खानेपानीको मूहान बाढीले बगाउँदा ५५ घरपरिवार खानेपानीबाट वञ्चित भएका कुँवरले बताए । राति भएको भारी बर्षाले ठाउँठाउँमा पहिरो समेत खसेको छ । 

यस्तै सुर्नया ६ कै रीगास्थित सर खोलामा आएका बाढीले स्थानीय हर्क कुँवरको घर जोखिममा परेको स्थानीय गणेशबहादुर कुँवरले बताए । 

यस्तै सुर्नया ६ धुलिधारमा पहिरो खस्दा स्थानीयहरुको खेतबारी र घरहरु जोखिममा परेका छन् । स्थानीय केशव अवस्थी, दामोदर अवस्थी, नारायणदत्त अवस्थी, पदमराज अवस्थी लगायतका खेतबारीमा पहिरो खसेको स्थानीय नवराज अवस्थीले बताए । बर्षाका कारण जमीन कमजोर भएर ठाउँठाउँमा पहिरो खसेको बताइएको छ । 

यस्तै वडा नं ६ कै बरायलगडामा पनि बाढी र पहिरोले क्षति पुर्याएको स्थानीयहरुले बताएका छन् ।

बाढी र पहिरोले पुर्याएको क्षतिको विवरण संकलनका लागि प्रहरीचौकी शंकरपुरबाट प्रहरी टोली खटिएको सुर्नया गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष मदनराज अवस्थीले बताए । 

क्षतिको विवरण संकलन भएपछि स्थानीय विपद् व्यवस्थापन समितिकातर्फबाट गर्न सकिने सहयोग गरिने उनले बताए । 

बिहीबार राति बैतडीमा भारी बर्षा भएको थियो । बर्षाका कारण आएको बाढी र पहिरोले विभिन्न ठाउँमा क्षति पुर्याएको बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update