Sagun Khabar
पाटनमा तीन दिन बजार अनुगमन : झण्डै एक लाखको म्याद नाघेको सामग्री नष्ट 

बैतडी–बैतडीको पाटन नगरपालिकाले तीन दिन बजार अनुगमन गर्दा झण्डै एक लाख बराबरको म्याद नाघेको सामग्री बरामद गरेर नष्ट गरेको छ । गौरा पर्वलाई लक्षित गरेर भदौ पहिलो साता गरिएको बजार अनुगमनका क्रममा ९८ हजार ४८३ रुपैयाँ बराबरको म्याद नाघेको सामग्री बरामद गरेर नष्ट गरिएको अनुगमन समितिका संयोजक एवं पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । 

पाटन बजार, ठाँड बजार, लोर्खा र मेल्तडा क्षेत्रमा तीन दिन अनुगमन गर्दा म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको उनले बताए । बजार क्षेत्रमा अझै पनि म्याद नाघेका अखाद्य सामग्री विक्रि वितरण गर्ने कार्य भइरहेकाले त्यसो नगर्न व्यापारीहरुलाई आग्रह गरिएको उपप्रमुख बोहराले बताए । 

Atrya hospital

पाटन बजारमा अनुगमन गर्दा ४८ हजार २८१ मूल्य बराबरको म्याद नाघेको सामग्री बरामद गरिएको थियो भने ठाँड बजारमा अनुगमन गर्दा २६ हजार २०२ रुपैयाँ बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको थियो 
यस्तै लोर्खा र मेल्तडा क्षेत्रमा अनुगमन गर्दा २४ हजार बराबरको सामग्री बरामद गरी नष्ट गरिएको उपप्रमुख बोहराले बताए । 

बजार अनुगमन गर्दा होटेलहरुमा सरसफाइको कमी रहेको पाइएको छ अखाद्य मासु र खाना बेच्ने गरेको पाइएको छ । बजार मानिसको स्वास्थ्यसंग जोडिएको बिषय भएकाले अखाद्य सामग्री विक्रि वितरण नगर्न सचेत गराइएको उपप्रमुख बोहराले बताए । 

बजार अनुगमनका क्रममा कालो बजारी गर्ने गरेको, कतिपय व्यवसाय सम्बन्धित निकायमा दर्ता नभएको पाइएकाले उनीहरुलाई कालोबजारी नगर्न र सम्बन्धित निकायमा दर्ता हुन आग्रह गरिएको उपप्रमुख बोहराले बताए । 
बजार अनुगमनलाई आगामी दिन निरन्तरता दिइने नगरपालिकाले जनाएको छ । अब बजार अनुगमन गर्दा अखाद्य सामग्री विक्रिवितरण गरेको पाइएमा जरीवाना गर्ने तयारी भएको उपप्रमुख बोहराले बताए । 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update