Sagun Khabar
बैतडीमा १ करोड विद्युत महसुल उठाउन बाँकी, महसुल नतिर्नेको लाइन काटिने 

बैतडी–बैतडीमा समयमा विद्युत महसुल नबुझाएकाहरुबाट १ करोड विद्युत महसुल उठाउन बाँकी रहेको छ । समयमा विद्युत महसुल नबुझाउने ७ हजार २७८ ग्राहकबाट १ करोड ८ हजार ३९२ रुपैयाँ महसुल उठाउन बाँकी रहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । 

विद्युत मिटर रिडिङ गरेको ६० दिनभित्र विद्युत महसुल बुझाइसक्नुपर्ने भएपनि ७ हजार २७८ ग्राहकले समयमा विद्युत महसुल नबुझाएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए । 

Atrya hospital

समयमा विद्युत महसुल नबुझाउनेको लाइन काट्ने कार्य शुरु गरिने पौडेलले बताए । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय नीति अनुसार बुधबारदेखि समयमा महसुल नबुझाउनको लाइन काट्ने कार्य शुरु हुने उनले बताए । 

गत बर्ष समयमा विद्युत महसुल नबुझाउने ६ सय ९२ ग्राहकको लाइन काटेर ५६ लाख ३४ हजार ५८३ रुपैयाँ राजस्व संकलन गरिएको थियो । ९३ ओटा सरकारी कार्यालय, ३ ओटा पार्टी कार्यालय र अन्य ५ सय ९६ ग्राहकको लाइन काटिएको थियो । 

लाइन काटिएका मध्ये महसुल बुझाउने ४ सय ९९ ग्राहकको लाइन फेरि जोडिएको छ भने लाइन काटेर पनि महसुल नबुझाउनेहरुको लाइन जोड्न बाँकी रहेको उनले बताए ।

बैतडीमा २४ हजार ५६५ घरधुरीमा विद्युतको राष्ट्रिय प्रशारण पुगीसकेको छ । चालु आर्थिक बर्षमा जिल्लाका ८० प्रतिशत घरधुरीमा विद्युतको पहुँच पुर्याउने लक्ष्य रहेको पौडेलले बताए । 

विद्युत महसुल समयमा नबुझाउँदा ग्राहकले जरीवाना समेत तिर्नुपर्ने भएकाले समयमै विद्युत महसुल बुझाउन विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले आग्रह गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update