Sagun Khabar
बैतडीका अधिकांश वडामा मदिराको कारोबारमा रोक 

बैतडी–गौरा पर्वलाई मध्यनजर गरेर बैतडीका अधिकांश वडामा मदिराको कारोबार र सेवनमा रोक लगाइएको छ । गौरा पर्वलाई शान्त र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मदिराको सेवन र कारोबारमा रोक लगाइएको वडाहरुले जनाएको छ । 

जिल्लाको पाटन नगरपालिका वडा नं ३ र ४ ले सूचना प्रकाशन गरेर गौराको अवधिभर मदिरा सेवन र बेचबिखनमा रोक लगाएको जनाएको छ । वडाको सूचना विपरीत कसैले मदिराको कारोबार र सेवन गरेमा कानुन अनुसार कारवाही हुने पाटन नगरपालिका वडा नं ३ का वडा अध्यक्ष करुणाकर भट्टले बताए । 

Atrya hospital

यस्तै डिलाशैनी गाउँपालिका वडा नं ५ र ७ ले पनि सूचना प्रकाशन गरेर गौरा अवधिभर मदिराको कारोबार र सेवनमा रोक लगाएको छ । 

यस्तै सिगास गाउँपालिकाका विभिन्न वडाहरुले सूचना प्रकाशन गरेर गौराको समयमा मदिरा बेचबिखन नगर्न आग्रह गरेका छन् । 

सुदूरपश्चिममा मनाइने गौरा पर्वको मुख्य दिन आज अठ्यावाली भएपनि अठ्यावाली पछि खेलहरु हुने भएको गौरा पर्व समापन नहुँदा सम्म मदिराको कारोबारमा रोक लगाएको वडा कार्यालयहरुले जनाएका छन् । 

यस्तै मेलौली नगरपालिका वडा नं १ लाई मदिरा निषेधित वडाको रुपमा घोषणा गर्ने तयारी भएको छ । मदिराका कारण समाजमा अशान्ति र आपराधिक घटना भइरहेकाले वडालाई मदिरा निषेधित वडा घोषणाको तयारी भएको वडा अध्यक्ष शरदसिंह नेगीले बताए ।

चाडपर्वहरुलाई शान्त र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मदिराको कारोबारमा रोक लगाउनु राम्रो कार्य भएको स्थानीय नागरिकहरुको भनाइ रहेको छ । 

बैतडीमा ८४ ओटा वडा रहेका छन् । जिल्लाभरी नै गौरा पर्व मनाउने परम्परा रही आएको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update