Sagun Khabar
सुदूरका गाउँघरमा गौराको रौनक

 बैतडी–सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको गाउँघरमा रौनक छाएको छ । गौराका लागि घरपरिवारका सबै सदस्यहरु एकै ठाउँमा भेटघाट हुने भएकाले गाउँघरमा रौनक छाएको पाटन नगरपालिका ३ का अम्बादत्त पन्तले बताए । 

गौराको समयमा रोजगारीका लागि भारतका विभिन्न ठाउँमा गएकाहरु समेत फर्केकाले गाउँघरमा रमाइलो वातावरण भएको उनले बताए । उनले भने ‘गाउँघरमा गौराको रौनक छाएको छ ।गाउँका सबै मानिसहरु एकै ठाउँमा जमा भएर सुखदुख साटासाट गर्ने अवसर पनि मिलेको छ ।’

गौराको समयमा गौरा खलाहरुमा ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी र देउडा हुने भएकाले सबै मानिसहरुको जमघट हुने गरेको पन्तले बताए । 

Atrya hospital

यो समयमा गाउँघरका मानिसहरु एकै ठाउँमा जमा भएर गौरा मनाउने भएकाले सबैसंग भेटघाट हुने गरेको मेलौलीका नारदप्रसाद भट्टले बताए । 

भाद्र शुक्ल अथवा कृष्ण पञ्चमीबाट शुरु हुने गौरा पर्वको मुख्य दिन गौराष्टमी अर्थात अठ्यावाली भएपनि त्यो भन्दा पछिका दिनहरुमा समेत खेल खेलेर रमाइलो गर्ने चलन रही आएको छ । 

यो बर्षको गौरा भाद्र कृष्ण पक्षमा परेकाले भाद्र कृष्ण पञ्चमीबाट शुरु भएको गौरा अठ्यावालीपछि शुभसाइत हेरर समापन गर्ने गरिन्छ । 

अठ्यावालीपछि देवीदेवताहरुका खलामा खेल हुने भएकाले ठाउँ अनुसार फरक–फरक दिन गौरा पर्व समापन गर्ने चलन रही आएको छ । गौराको समयमा गाउँघरमा निकै रमाइलो वातावरण रहेको दशरथचन्द नगरपालिका १ का अशोक भट्टले बताए । 

सुदूरपश्चिममा बैतडीसहितका जिल्लाहरुमा गौरा पर्व मनाइने गरिन्छ । यो पर्व कर्णाली प्रदेशका केही ठाउँ र भारतको कुमाउ गढवालसम्म समेत मनाउने गरिएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । 

गौरा पर्व मानसखण्ड क्षेत्रको मौलिक र सांस्कृतिक पर्व भएको उनले बताए । मानस नारीहरुले मात्रै दुबधागो धारण गर्ने परम्परा रहेकाले यो निकै बिशिष्ट खालको पर्व भएको उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update