Sagun Khabar
स्वर्गीय जनक अवस्थीका परिवारका लागि संकलन भएको सहयोग रकम सार्वजनिक 

बैतडी–बैतडीको पाटन नगरपालिका –३ घर भएका जनकप्रसाद अवस्थीको जापानमा निधन भएपछि सञ्चालन भएको सहयोग अभियान अन्तर्गत संकलन भएको रकम सार्वजनिक गरिएको छ ।

अध्ययनका लागि गत वैशाखमा जापान गएका अवस्थीको गत साउन ७ गते नदीमा डुबेर मृत्यु भएको थियो । ऋण निकालेर अध्ययनका लागि जापान गएको छोरा उतै अस्ताएपछि अवस्थी परिवारलाई समस्या भएको थियो । 

Atrya hospital

स्वर्गीय जनक अवस्थीको परिवारलाई दुःखको समयमा साथ दिने उद्देश्यले स्थानीय युवाहरुको सक्रियतामा सञ्चालन भएको सहयोग अभियान अन्तर्गत संकलन भएको रकम आज एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको अभियान्ता प्रेमसिंह भाटले बताए । 

स्वर्गीय अवस्थीको परिवारलाई विभिन्न व्यक्ति तथा संघसंस्थाबाट १६ लाख ३ हजार ९०३ रुपैयाँ संकलन भएको जानकारी दिइएको छ । स्थानीय जनप्रतिनिधि, सरोकारवालाहरुलाई राखेर संकलन भएको रकम सार्वजनिक गरिएको अर्का अभियान्ता नरेन्द्रप्रसाद भट्टले बताए । 

अभियान अन्तर्गत ८सय २१ जनाबाट व्यक्तिगत रुपमा ११ लाख ३ सय ९२ रुपैयाँ, ६ ओटा संघसंस्थाबाट ४८ हजार ६०६ रुपैयाँ र जापानबाट विभिन्न व्यक्ति र संस्थाबाट ४ लाख ५४ हजार ९०५ रुपैयाँ संकलन भएको भट्टले बताए । 

अवस्थी परिवारलाई समस्या परेको समयमा सहयोग गर्ने व्यक्ति र संघसंस्थाको नामावलीसहितको पुस्तिका बनाएर स्वर्गीय अवस्थीका बुवा लक्ष्मीदत्त अवस्थीलाई हस्तान्तरण गरिएको छ । 

समस्यामा परेका बेला सहयोग गर्नुपर्छ भन्ने सामूहिक भावनाको विकास गर्ने, समस्यामा परेकाहरुको घाउमा मलम लगाउन र असल संस्कृतिको विकासका लागि अभियान सञ्चालन गरिएको भाटले बताए । उनले भने ‘समस्यामा परेका बेला अरुको सहयोग चाहिन्छ । यो संस्कृतिको विकास गर्न र सामूहिक भावना जागृत गर्नका लागि हामीले अभियान सञ्चालन गरेका हौं । यो अभियानमा सरीक हुने सबैलाई धन्यवाद दिन चहान्छौं ।’

दुःख परेको बेला गरेको सहयोगले आफ्नो परिवारलाई ठूलो गुन लगाएको भन्दै स्वर्गीय अवस्थीका बुवा लक्ष्मीदत्त अवस्थीले सबैलाई धन्यवाद समेत दिएका छन् ।   
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update