Sagun Khabar
संस्थागत स्वमूल्यांकन ‘लिजा’ : बैतडीमा पुर्चौंडी उत्कृष्ट, सुर्नया पुछारमा 

बैतडी–स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा बैतडीका स्थानीय तहमध्ये पुर्चौंडी नगरपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७९÷८० को संस्थागत स्वमूल्यांकनको नतिजा अनुसार पुर्चौंडी नगरपालिकाले ८१.२५ प्रतिशत अंक पाएको छ । 

सबैभन्दा पुछारमा रहेको सुर्नया गाउँपालिकाले ४०.२५ प्रतिशत अंक पाएको छ । मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार दोगडाकेदार गाउँपालिकाले ७३.५० प्रतिशत अंक पाएको छ । यस्तै दशरथचन्द नगरपालिकाले ७०.२५ प्रतिशत, शिवनाथ गाउँपालिकाले ६७.५० प्रतिशत,डिलाशैनी गाउँपालिकाले ६४प्रतिशत, सिगास गाउँपालिकाले ६३.७५ प्रतिशत, पञ्चेश्वर गाउँपालिकाले ५९.५०प्रतिशत, मेलौली नगरपालिकाले ५७.२५ प्रतिशत र पाटन नगरपालिकाले ४८.२५ प्रतिशत अंक प्राप्त गरेको छ । 

Atrya hospital

शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, बित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, समन्वय र सहकार्य गरी १० ओटा सूचकमा मूल्यांकन गर्ने गरिएको मन्त्रालयले जनाएको छ । 

स्थानीय तहहरुको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवथापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारवीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको अवधारणा ल्याइएको मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update