Sagun Khabar
गौरा पर्व : आज नानी गौरा, केही ठाउँमा आज बिरुडा भिजाइँदै 
फाइल फोटो

बैतडी –सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा हिजोदेखि सुरु भएको छ । बैतडीसहित सुदूरपश्चिमका जिल्लाहरुमा हिजोदेखि गौरा शुरु भएको हो । धोइ गौरा मनाउने प्रचलन भएका ठाउँमा आजदेखि गौरा पर्व शुरु भएको छ । आजदेखि गौरा शुरु हुने ठाउँमा आज बिरुडा भिजाएर ब्रतालु महिलाहरुले गौरा पर्वको शुरुवात गर्दैछन् । 

हिजोदेखि गौरा शुरु भएका ठाउँमा आज नानी गौरा मनाइँदैछ । ब्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रही आएको छ ।आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन रही आएको छ । सवाँ, अपामार्ग लगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ती बनाई नजिकका पानीका मूहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ ।

Atrya hospital

बिरुडापञ्चमीका दिन भिजाएका बिरुडाले गौराको पूजाआजा गर्ने चलन रही आएको छ । बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने प्रचलन रही आएको छ । 

पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यती बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको बताइन्छ । 

दुर्वाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो  । भोली सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । भोली नै महिलाहरुले धारणा गर्ने बिशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन धारण गर्ने चलन रही आएको छ ।

तागाधारी पुरुषहरुले जनेउ धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् । 

गौराको समयमा सामूहिक रुपमा ठाडो खेल,ढुस्को, धमारी लगायतका सांस्कृतिक खेलहरु खेल्ने गरिएको छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update