Sagun Khabar
गुणस्तरीय शिक्षाका लागि रौलेश्वर माविले गर्यो अभिभावकहरुसंग अन्तरक्रिया 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं ५ स्थित रौलेश्वर मावि रामकी बरायलले अभिभावकहरुसंग अन्तरक्रियात्मक छलफल गरेको छ । 

विद्यालयको शैक्षिक गुणस्तर सुधारका बिषयमा शुक्रबार अभिभावकहरुसंग अन्तरक्रियात्मक छलफल गरिएको विद्यालयका प्रधानाध्यापक गोपालसिंह मडैले जानकारी दिए । 

Atrya hospital

विद्यालयले सञ्चालन गरेको त्रैमासिक परीक्षाको समीक्षा र शैक्षिक गुणस्तरका बिषयमा अभिभावकहरुको सुझाव माग्ने उद्देश्यले अन्तरक्रियात्मक छलफल गरिएको प्रधानाध्यापक मडैले बताए । 

अन्तरक्रियामा सहभागी अभिभावकहरुले कमजोर विद्यार्थीहरुको शैक्षिक अवस्थामा सुधार ल्याउनका लागि अतिरिक्त कक्षाको व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन् । यस्तै बालबालिकाहरुलाई नैतिक र अनुशासन शिक्षा दिनुपर्नेमा अभिभावकहरुको जोड छ । 

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कीरहेका बेला रौलेश्वर माविले अभिभावकहरुसंग अन्तरक्रिया गर्नु एकदमै राम्रो काम भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुनसिंह मडैले बताए । 

विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थीहरुबीच त्रिपक्षीय छलफल र अन्तरक्रिया हुनु निकै राम्रो कुरा भएको अर्का अभिभावक धीरबहादुर मडैले बताए । उनले भने ‘विद्यालयले राम्रो शुरुवात गरेको छ । यस्ता अन्तरक्रिया र छलफललाई आगामी दिनमा निरन्तरता दिनुपर्छ ।’

अभिभावकहरुले दिएको सुझावका आधारमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अगाडि बढ्ने प्रधानाध्यापक मडैले बताए । 

२००८ सालमा स्थापना भएको रौलेश्वर माविमा ३ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् । उक्त विद्यालयमा कक्षा १२ सम्मको पढाई हुने गरेको छ । रौलेश्वर मावि रामकी बरायलमा २०५३ सालदेखि माध्यमिक तहको पठनपाठन शुरु भएको विद्यालयका प्रधानाध्यापक मडैले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update