Sagun Khabar
दशरथचन्द नगरपालिकाले साप्ताहिक रुपमा ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन गर्ने 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले साप्ताहिक रुपमा ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन गर्ने भएको छ । गोठलापानीस्थित नगर क्लिनिकबाट नियमित रुपमा निशुल्क अल्ट्रासाउण्ड सेवा प्रदान गर्दै आएको नगरपालिकाले अब स्वास्थ्य संस्थाहरुबाट पनि ग्रामीण अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने तयारी गरेको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवन जोशीले बताए । 

नगरपालिकालाई स्वास्थ्य सेवा विभागबाट ग्रामीण अल्ट्रासाउण्ड मेसिन प्राप्त भएको र अब धेरै ठाउँको पायक पर्ने संस्थाबाट साप्ताहिक रुपमा ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन गर्ने तयारी भइरहेको जोशीले बताए । 

Atrya hospital

गर्भवती आमाहरुको स्वास्थ्य अवस्थाका बारेमा समयमै जानकारी लिने, पेटभित्रको बच्चाको स्वास्थ्य अवस्थाका बिषयमा समयमै जानकारी लिने उद्देश्यले ग्रामीण अल्ट्रासाउण्ड सेवालाई विस्तार गर्ने तयारी भएको हो । गर्भावस्था हुन सक्ने जटीलताहरु समयमै पत्ता लगाएर मातृ तथा शिशु मृत्युदर घटाउनका लागि स्वास्थ्य संस्थाहरुबाट ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन गर्ने तयारी भएको हो । 

ग्रामीण अल्ट्रासाउण्ड मेसिन सञ्चालन गर्ने जनशक्ति कम भएकाले पालिकालाई सेवा विस्तारमा केही असहज भएपनि सेवा विस्तार गर्ने योजना रहेको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए । 

भदौ दोश्रो साता स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समीक्षा गरिने र त्यसबाट कुन स्वास्थ्य संस्थामा मेसिन राखेर ग्रामीण अल्ट्रासाउण्ड सेवा धेरैलाई दिन सकिन्छ सोही संस्थाबाट उक्त सेवा प्रदान गरिने जोशीले बताए । 

दशरथचन्द नगरपालिकासंग अब ग्रामीण अल्ट्रासाउण्डका लागि दुईओटा मेसिन भएपनि तालिम प्राप्त जनशक्तिको अभाव रहेको बताइएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update