Sagun Khabar
गौराको मुख्य दिन ‘अठ्यावाली’भदौ १० गते 

बैतडी–सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावाली यो बर्ष भदौ १० गते परेको छ । गौरा र महेश्वरको पूजाआजा गरी मनाइने यो पर्वको मुख्य दिन अठ्यावाली भदौ १० गते परेको ज्योतिष पण्डित गणेशप्रसाद पन्तले बताए । 

यो बर्षको गौरा कुनै ठाउँमा भदौ ७ गते र कुनै ठाउँबाट भदौ ८ गतेबाट मनाउने तयारी भएको छ । गौराको शुरुवात गर्ने बिरुडापञ्चमी भदौ ७ र ८ गते परेकाले दुवै दिन बिरुडा भिजाउन सकिने पन्तले बताए । 

यो बर्ष भदौ कृष्ण पक्षमा गौरा परेकाले यो गौरालाई अँधेरी गौरा तथा काली गौरा समेत भन्ने गरिएको अठोला पञ्चाङ्गका ज्योतिष डिल्लीराज जोशीले बताए । भदौ ८ गते गौरा शुरु गर्ने ठाउँमा भदौ ९ गते बिरुडा धुने र गौरा भित्र्याइने उनले बताए । 

Atrya hospital

भदौ ७ गतेबाट गौरा शुरु हुने ठाउँमा भदौ ८ गते बिरुडा धुने अर्थात नानी गौरा मनाउने तयारी छ भने भदौ ९ गते गौरा भित्र्याउने अर्थात ठूली गौरा मनाउने तयारी रहेको छ । 

गौरा पर्वको मुख्य दिन अठ्यावाली भने भदौ १० गते परेको ज्योतिषहरुले बताएका छन् । गौरापर्व उपासक महिलाहरुले पञ्चमीका दिनबाटै गौराको ब्रत लिने गर्दछन् । 

पञ्चमी दिन ब्रतालु महिलाहरुले पाँच प्रकारका अन्न गहत, गुराउँस,गहुँ, मास र केराउलाई बिरुडाका रुपमा भिजाउने गर्दछन् । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा तथा तलाउमा लगेर धुने प्रचलन रही आएको छ । 

षष्ठीका दिन ब्रतालु महिलाहरुले गौरा महेश्वरको गाथामा आधारित फागहरु गाउँदै गौराको पूजाआजा गर्ने चलन रही आएको छ । 

यस्तै अमुक्ताभरण सप्तमीका दिन ब्रतालु महिलाहरुले गौराघरमा गौरा भित्र्याउने गरेका छन् । दिनभर ब्रत बसी साँझ गौराको पूजाआजा गर्ने चलन रही आएको छ । यही दिन ब्रतालु महिलाहरुले दुबधागो गौरामा चढाउनुका साथै सप्तमी धारण गर्ने परम्परा रही आएको छ । अमुक्ताभरण सप्तमीका दिन ब्रतालु महिलाहरुले कुण्ड स्नान गर्ने चलन समेत रही आएको छ ।

गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन ब्रतालु महिलाहरुले गौराघरबाट गौरा खलामा लगेर बिरुडाले गौराको पूजाआजा गर्ने गर्दछन् । दिनभरी अठ्यावाली गाउँदै उनीहरुले पूजाआजा गर्ने गर्दछन् । 

अठ्यावाली सकिएपछि गौरादेवीको प्रसाद स्वरुप बिरुडाले आफ्ना श्रीमान, छोराछोरी र आफन्तहरुको टाउको पुज्ने चलन रही आएको छ ।  
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update