Sagun Khabar
पाटन बजारमा अनुगमन : ४८ हजार बढीको म्याद नाघेको सामग्री बरामद गरी नष्ट 

बैतडी –बैतडीको पाटन बजारमा अनुगमन गरिएको छ । पाटन नगरपालिकाको संयोजनमा बजार अनुगमन गरिएको हो । 

मंगलबार बजार अनुगमन गर्दा ४८ हजार बढीको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको अनुगमन समितिका संयोजक एवं नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । चाडपर्व लक्षित गरेर संयुक्त रुपमा बजार अनुगमन गर्दा ४८ हजार २८१ मूल्य बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको उनले बताए । 

Atrya hospital

पाटन बजार क्षेत्रका ५५ ओटा पसल तथा होटेलमा अनुगमन गर्दा १६ ओटा पसलबाट म्याद नाघेका सामग्री बरामद गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख ललित कठायतले बताए । 

पाटन बजार क्षेत्रका होटेलहरुमा सरसफाइको कमी हुनुका साथै मासु, माछा लगायतका सामग्री समेत खान योग्य नभेटिएका कठायतले बताए । अनुगमनका क्रममा होटेल व्यवसायीहरुलाई स्वच्छता कायम राख्न र म्याद नाघेका खाद्य सामग्री विक्रि नगर्न आग्रह गरिएको उपप्रमुख बोहराले बताए । 

बजार अनुगमनका क्रममा नगरपालिकाका साथै जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र इलाका प्रहरी कार्यालय पाटनका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । 

जिल्लाका अन्य बजारमा अनुगमन गर्दा म्याद नाघेका सामग्री कम फेला परीरहेका बेला पाटनमा भने एकै दिन ४८ हजार बढीका म्याद नाघेका सामग्री भेटिएका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कठायतले बताए । 

अनुगमनका क्रममा व्यापारीहरुलाई म्याद नाघेका सामग्रीहरु विक्रि वितरण नगर्न, सम्बन्धित निकायमा दर्ता हुन, बजारमा अनुशासन कायम गर्न निर्देशन दिइएको उपप्रमुख बोहराले बताए । 

पसलहरुबाट बरामद गरिएका अखाद्य सामग्रीहरु सबैको रहोबरमा आजै नष्ट गरिएको समेत उपप्रमुख बोहराले बताए ।  

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update