Sagun Khabar
पहिरोका कारण बैतडीको पुर्चौंडीमा एक परिवार विस्थापित, दुई घर जोखिममा 

बैतडी–लगातारको बर्षासंगै खसेको पहिरोले बैतडीको पुर्चौंडीमा एक घरपरिवार विस्थापित भएको छ । 

पुर्चौंडी नगरपालिका वडा नं ७ रतोकाका धर्मसिंह बोहराको परिवार विस्थापित भएको हो । ढोल्यामोड–हाट सडक स्तरोन्नतीका क्रममा डबल कटिङ गरेसंगै सडकमाथि रहेको बोहराको घर पहिरोको उच्च जोखिममा परेको छ । 

सडक स्तरोन्नतीका क्रममा लगाएको पर्खाल भत्किएपछि घर समेत पहिरोले बगाउने अवस्था आएपछि घर छोडेर छिमेकीको घरमा बस्न थालेको बोहराले बताए । सडक निर्माणका क्रममा लगाएको पर्खालसहित घरतलतिर पुरै पहिरोले बगाएको बोहराले बताए । 

Atrya hospital

आफूसंग अन्यत्र घर बनाउन जमीन समेत नभएपछि आफू पूर्ण रुपमा विस्थापित भएको बोहराले बताए । 

बोहराको ९ जनाको परिवार अहिले छिमेकी नरी रतोकीको घरमा बसीरहेको छ । उक्त घर समेत पहिरोको जोखिममा रहेको बताइएको छ । नरी रतोकी र धनी रतोकी गरी अन्य दुई जनाको घर समेत पहिरोको जोखिममा रहेको बोहराले बताए । 

पहिरोले घरको आँगन समेत लगिसकेपछि आफू विचल्लीमा परेको उनले सुनाए । आफ्नो समस्याका बारेमा स्थानीय सरकारलाई जानकारी गराइसकेको बोहराले बताए । 

विस्थापित बोहरा परिवारको व्यवस्थापनका लागि नगर सरकारले पहल गरिरहेको पुर्चौंडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले बताए । बोहरा परिवारको व्यवस्थापनका लागि स्थानीय सरकार, स्थानीय प्रशासन र सम्बन्धित निर्माण कम्पनीसंग सम्झौता समेत गरिएको कुँवरले बताए । 

बोहराको अन्यत्र जमीन नभएकाले उनको व्यवस्थापनका लागि नगरपालिकाले आफ्नो भोगाधिकार क्षेत्रभित्रको जमीन उपलब्ध गराउन तयार रहेको प्रमुख प्रशासकीय अधिकृत कुँवरले बताए । 

तत्कालका लागि बोहरा परिवारलाई भान्छा घरको व्यवस्थापन गर्न जस्तापाता उपलब्ध गराइएको र खाद्यान्न समेत उपलब्ध गराइने बोहराले बताए । यो बिषयमा जिल्ला विपद् व्यवस्थापन समितिसंग समेत कुराकानी भइरहेको प्रमुख प्रशासकीय अधिकृत कुँवरले बताए । 


 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update