Sagun Khabar
गाँजाका बोट नष्ट गर्ने अभियानमा बैतडी प्रहरी 

बैतडी–बैतडी प्रहरीले गाँजाका बोट नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाभरी गाँजाका बोट नष्ट गर्ने अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । 

 विभिन्न ठाउँमा आँफै उम्रेको गाँजाका बोटहरु नष्ट गर्ने गरिएको उनले बताए । गाँजा लागूऔषध भएकाले गाँजाका बोट नष्ट गर्ने अभियान सञ्चालन गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताए । ‘पछिल्लो समयमा लागूऔषध प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको छ । त्यसलाई नियन्त्रण गर्ने हाम्रो प्रयास जारी रहेको छ ।’उनले भने 

Atrya hospital

गाँजा लागूऔषध भएकाले त्यसको प्रयोग र कारोबारमा रोक लगाउनका लागि गाँजाका बोट नष्ट गर्ने अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । उनले भने ‘हाम्रो  मातहतका सबै प्रहरी युनिटहरुबाट गाँजा नष्ट अभियान सञ्चालन भइरहेको छ । यसमा समुदायको सहभागिता समेत गराइरहेका छौं ।’

शुक्रबारमात्रै जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिका वडा नं ४ को करीब १ रोपनी क्षेत्रमा आँफै उम्रिएको गाँजाको बोट नष्ट गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताए । प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको प्रहरीले टोलीले गाँजाका बोट नष्ट गरेको हो । 

अहिलेसम्म जिल्लाभरी करीब ४ रोपनी क्षेत्रफलमा आँफै उम्रेको गाँजाको बोट नष्ट गरिएको प्रहरीले जनाएको छ । 

जिल्लाको ढोल्यामोड, सतबाँझ, गोठलापानी लगायतका क्षेत्रमा गाँजाका बोट नष्ट गरिएको बताइएको छ । गाँजाका बोटहरु नष्ट गर्नका लागि मातहतका सबै प्रहरी युनिटलाई निर्देशन दिइएको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

गाँजाका बोटमा औषधीय गुण हुने भएकाले कतिपयले यसको प्रयोग गर्नुपर्ने र दुरुपयोग रोक्नुपर्नेमा जोड दिएका छन् । गाँजाका बोट नष्ट नगरेर यसलाई औषधीको रुपमा कसरी प्रयोग गर्न सकिन्छ त्यतातर्फ ध्यान दिनुपर्नेमा समेत धेरैले सुझाव दिएका छन् । 

सरकारले समेत गत बर्षको बजेटमा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने कुरा ल्याएको थियो । 
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update