Sagun Khabar
भारतले धौलीगंगा बाँध खोल्यो, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह 

बैतडी– भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ । आज बिहान ८ बजेदेखि खोलिएको बाँध भोलि बेलुका सम्म खुला रहने जानकारी आएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । 

बाँध खोलेको समयमा महाकाली नदीमा जलस्तर बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । भारतले बाँध खोल्नुपूर्व नै सूचना जारी गरेकाले आफूहरुले पनि सतर्कता अपनाउनका लागि आग्रह गरेको उनले बताए । 

Atrya hospital

धौलीगंगा पावरस्टेशनमा सिल्ट सरसफाइका लागि बाँध खोलेको जनाइएको छ । 

बाँध खोलेको समयमा दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । 

धौलीगंगा जलविद्युत परियोजनाको बाँध वर्षातको बेला सिल्ट सरसफाइका लागि बेला–बेला खोल्ने गरिएको छ । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि भारतीय पक्षले नेपाली पक्षलाई जानकारी गराउने गरेको छ ।
वि सं २०७० असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो ।

पछिल्लो समयमा धौलीगंगा बाँध खोल्नुपूर्व जानकारी दिने गरिएकाले क्षति न्यूनीकरण गर्न सहयोग पुगेको छ भने नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन सहज भएको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update