Sagun Khabar
बैतडीबाट खानेपानीको नमूना संकलन 

बैतडी–देशका विभिन्न ठाउँमा हैजा फैलिएपछि बैतडीबाट पनि खानेपानीको नमूना संकलन गरिएको छ । विभिन्न ब्राण्डका खानेपानीमै हैजाका कीटाणु देखिन थालेपछि विभागको निर्देशन अनुसार खानेपानीको नमूना संकलन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख ललित कठायतले बताए । 

बैतडीको दोगडाकेदारमा नवयुग सहकारी संस्थाले उत्पादन गरिरहेको दोगडाकेदार ब्राण्डको खानेपानी उद्योगमै पुगेर नमूना संकलन गरिएको कठायतले बताए । 

यस्तै जिल्लामा विक्रिका लागि विभिन्न ठाउँबाट आयात गरिएका खानेपानीको नमूना पनि संकलन गरिएको उनले बताए । 

Atrya hospital

दार्चुलाको मार्मा गाउँपालिकामा उद्योग रहेको अपि स्प्रीन खानेपानी, पिजी खानेपानी र लिप ब्राण्डको खानेपानीको नमूना संकलन गरिएको उनले बताए । 

संकलित नमूना परीक्षणका लागि क्षेत्रीय प्रयोगशाला धनगढीमा पठाइने कठायतले बताए । 

यसैबीच चाडपर्व नजिक आएपछि बैतडीमा बजार अनुगमन शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा विभिन्न ठाउँमा बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कठायतले बताए । 

जिल्ला सदरमुकामस्थित गढी र गोठलापानीमा बजार अनुगमन गरिएको हो । गढीमा १३ ओटा पसल र गोठलापानीमा ४२ ओटा पसलमा अनुगमन गरिएको छ । पसलहरुमा अनुगमन गर्दा २ हजार ४५० रुपैयाँ बराबरको म्याद नाघेको सामग्री बरामद गरेर नष्ट गरिएको छ । 

पछिल्लो समयमा म्याद नाघेका सामग्री विक्रि वितरण गर्न नहुने कुरामा व्यापारीहरु सचेत हुँदै गएका छन् । एकै पसलबाट १० हजारको म्याद नाघेको सामग्री बरामद हुने ठाउँमा ५० बढी पसलमा अनुगमन गर्दा झण्डै अढाई हजारको म्याद नाघेको सामग्री फेला पर्नु सामान्य भएको उनले बताए । 

नियमित बजार अनुगमनका कारण बजारमा अनुशासन कायम हुँदै गएको कठायतको दाबी छ । जिल्लाका अन्य ठाउँमा समेत बजार अनुगमन गर्दा म्याद नाघेका सामग्री कम पाइने गरेको छ । उपभोक्ता र व्यापारी दुवै पक्ष सचेत हुँदै गएको कठायतले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update