Sagun Khabar
महिला भलिबल टोलीका १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने सरकारको निर्णय

काठमाण्डौ – सरकारले काभा महिला भलिबल लिगमा उपविजेता भएको नेपाली टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले काभा महिला भलिबल लिगमा सहभागी १४ जना खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यस्तै बैठकले टोलीका मुख्य प्रशिक्षकलाई दुई लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियो गरी तीन जनालाई जनही एक लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

Atrya hospital

यसैगरी मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री आरजु राणा देउवा नेतृत्वको प्रतिनिधिमण्डललाई भारत भ्रमणका लागि स्वीकृति दिएको छ । यस्तै विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०७९÷८० र २०८०÷८१ गरी लगातार दुई वर्षसम्म वार्षिक एक सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका संस्थाको इजाजतपत्र आर्थिक वर्ष २०८१÷०८२ का लागि नवीकरण गर्न आएमा अन्तिम एकपटकका लागि नवीकरण गरिदिने गरी बाँधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update