Sagun Khabar
गौरा नजिक आउँदा समेत बैतडीका बजार सुनसान 

बैतडी–सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा नजिक आइसक्दा समेत बैतडीका बजारहरुमा चहलपहल बढेको छैन् । गौराको समयमा चहलपहल बढ्ने बजारहरुमा यो बर्ष अहिले सम्म सुनासान अवस्था रहेको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले बताए । 

यो बर्षको गौरा भदौ ७ गतेदेखि शुरु हुँदैछ । गौरा आउनुभन्दा एक महिना पहिलादेखि चहलपहल बढ्ने यहाँका बजारहरु सुनासान रहेका भट्टले बताए । आर्थिक मन्दीका कारण ग्राहकहरु बजारमा आउन छोडेका उनले बताए । उनले भने ‘गौराको समयमा व्यापार व्यवसाय निकै राम्रो हुने गरेको थियो । तर यो बर्ष बजारहरु सुनसान छन् । बजारहरुमा छिटफुट रुपमा मात्रै ग्राहकहरु आउने गरेका छन् ।’

Atrya hospital

गौराको समयमा लुगाकपडा किन्नेहरुको भीड लाग्ने भएको भएपनि यो बर्ष बजार सुनासान रहेको मुस्याचोरका व्यापारी भिमराज भट्टले बताए । यो बर्ष बजारमा चहलपहल बढ्न नसकेको उनले बताए । उनले भने ‘कोरोना कहरपछि बजार सुस्त भएको यो पहिलो पटक हो । ग्राहकहरु बजार धेरै कम आउने गरेका छन् ।’

जिल्लाको मुख्य बजारको रुपमा रहेको पाटनमा समेत चहलपहल बढ्न सकेको छैन् । पाटनमा जिल्लाका सबैजसो ठाउँका ग्राहकहरु पुग्ने भएपनि यो बर्ष चहलपहल नबढेको पाटन बजार व्यवस्थापन समितिका अध्यक्ष खेमराज भट्टले बताए । पछिल्लो समयमा व्यापारीहरु पलायन हुने अवस्था सिर्जना भएको उनले सुनाए । उनले भने ‘बजारमा सुनसान छ । गौराको समयमा समेत चहलपहल बढ्न सकेको छैन् ।’

जिल्लाको गोठलापानी, देहीमाण्डौं, मुस्याचौर,सतबाँझ, पाटन, खोड्पे, हाट, मेलौली लगायतका बजारमा चहलपहल नबढेको स्थानीयहरुले बताएका छन् । गौराको समयमा नयाँ लुगा किन्नेहरुको भीड हुने भएपनि यो बर्ष त्यसो हुन नसकेको व्यापारीहरुले बताएका छन् । पहिलाको तुलनामा बजारमा निकै मन्दी छाएको देहीमाण्डौंका व्यापारी गोपाल बोहराले बताए । उनले भने ‘चाडपर्वको समयमा समेत बजारमा चहलपहल बढ्न सकेको छैन् । पहिलाको जस्तो चाडपर्व आएको भान भएको छैन् ।’
 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update