Sagun Khabar
भारतले धौलीगंगा बाँध खोल्दै, महाकाली किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह 

बैतडी– भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले परियोजनाको बाँध भदौ १ गते शनिबार बिहान ८ बजेदेखि भदौ २ गते बेलुकासम्म खोलिने जनाएको छ ।

बाँधको खोलेको समय र त्यसपछिका केही घण्टा महाकाली नदीमा जलस्तर बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

Atrya hospital

धौलीगंगा पावरस्टेशनमा सिल्ट सरसफाइका लागि बाँध खोल्ने तयारी भएको बताइएको छ । बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यसका साथै लगातारको वर्षा र बाँध खोलिएपश्चात महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदि आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव ढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न दार्चुला प्रशासनले आग्रह गरेको छ । 

धौलीगंगा जलविद्युत परियोजनाको बाँध वर्षातको बेला सिल्ट सरसफाइका लागि बेला–बेला खोल्ने गरिएको छ । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि भारतीय पक्षले नेपाली पक्षलाई जानकारी गराउने गरेको छ ।
वि सं २०७० असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो ।

पछिल्लो समयमा धौलीगंगा बाँध खोल्नुपूर्व जानकारी दिने गरिएकाले क्षति न्यूनीकरण गर्न सहयोग पुगेको छ भने नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन सहज भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update