Sagun Khabar
बैतडी अस्पताल स्तरोन्नतीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र 

बैतडी–जिल्ला अस्पताल बैतडीलाई स्तरोन्नती गर्नुपर्ने माग गर्दै बैतडीबासीकातर्फबाट सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । 

प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मामार्फत मुख्यमन्त्री कमलबहादुर शाहलाई अस्पताल स्तरोन्नतीको माग गर्दै बुधबार ज्ञापन पत्र बुझाएको सामाजिक अगुवा महेशदत्त भट्ट बताए । ५० बर्ष पहिला स्थापना भएको अस्पतालले अहिले समेत बिशेषज्ञ सेवा दिन नसकेको स्मरण गराउँदै अस्पताल स्तरोन्नतीको माग गरिएको उनले बताए । उनले भने ‘२०३३ सालमा स्थापना भएको अस्पतालमा अझै पनि आधारभूत सेवा पाउन मुस्किल छ । स–साना बिरामहरुको उपचारका लागि पनि भारतको पिथौरागढ धाउनुपर्ने अवस्था छ । प्रदेश सरकार अहिले बजेट निर्माणको चरणमा रहेकाले हामीले अस्पताल स्तरोन्नतीको माग गरेका हौं ।’

मुख्यमन्त्री शाहलाई बुझाइएको पाँच बुँदे ज्ञापन पत्रमा जिल्ला अस्पताल बैतडीलाई ५० शैय्याको अस्पताल सञ्चालनको स्वीकृत दिनुपर्ने माग गरिएको छ । अस्पतालसंग आवश्यक भौतिक संरचना भएकाले ५० शैय्याको अस्पताल सञ्चालनको स्वीकृती दिनुपर्ने माग गरिएको हो । 

Atrya hospital

यस्तै जिल्ला अस्पतालमा बिशेषज्ञ चिकित्सकको दरबन्दी स्वीकृत गर्नुपर्ने, डिजिटल एक्सरे मेसिन उपलब्ध गराउनुपर्ने, फिजियोथेरापी स्टेप मेसिन उपलब्ध गराउनुपर्ने, हड्डी भाँचिएका बिरामीको उपचारका लागि सीएम मेसिन उपलब्ध गराउनुपर्ने माग राखिएको भट्टले बताए । 

जिल्ला अस्पतालमा बिशेषज्ञ सेवा नहुँदा र दरबन्दी अनुसारका चिकित्सक नहुँदा नागरिकले सीमावर्ती भारतीय क्षेत्रमा गएर उपचार गराउनुपर्ने बाध्यता रही आएको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले बताए । 

जिल्ला अस्पताल बैतडीसंग भौतिक संरचना भएपनि दक्ष जनशक्तिको अभाव रहेको छ । दरबन्दी अनुसारका चिकित्सक अहिलेसम्म पदपूर्ती हुन सकेको छैन् । 

सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनेपछि बजेट निर्माणको काम भइरहेकाले अस्पतालको समस्या समाधानका लागि पहल होस भनेर आफूहरुले अभियान नै सञ्चालन गरेको भट्टले बताए । 

अस्पताल स्तरोन्नतीको मागसहित ज्ञापन पत्र बुझाउन दशरथचन्द नगरपालिकाका निवर्तमान नगर प्रमुख नरेन्द्रसिंह थापा, बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्ट, सामाजिक अगुवा महेशदत्त भट्ट, दिपेश शाह, मोहित भण्डारी लगायत व्यक्तिहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए । 

Hospital-3-1723631632.jpg
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update