Sagun Khabar
सुदूरपश्चिममा एक उपाध्यक्षसहित चार वडा अध्यक्षको पद रिक्त, उपनिर्वाचनको तयारी 

बैतडी–सुदूरपश्चिम प्रदेशमा एक गाउँपालिकाका उपाध्यक्षसहित चार वडाध्यक्षको पद रिक्त रहेको छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षको पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ । बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुँहु गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षको पद रिक्त रहेको आयोगले जनाएको छ । 

निर्वाचन आयोगले मङ्गलवार विज्ञप्ति सार्वजनिक गर्दै २०७९ वैशाख ३० गतेको निर्वाचनमा निर्वाचित भएका सुदूरपश्चिममा पाँच वटा पद रिक्त रहेको बताएको हो । आयोगले नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडा अध्यक्ष गरी देशभर ३४ पद रिक्त रहेको जनाएको छ । 

Atrya hospital

रिक्त रहेका पदमा जनप्रतिनिधि चयनका लागि उपनिर्वाचनको तयारी समेत आयोगले थालेको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम रिक्त रहेका पदहरूको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले उप निर्वाचनको मिति तोक्ने कानुनी व्यवस्था रहेको छ । 

उपनिर्वाचन मार्फत पदपूर्तिका लागि आयोगले आन्तरिक तयारी थालेको बताएको छ । मतदाता नामावली ऐन,२०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही कारणले नेपाल सरकारले उपनिर्वाचनको मिति घोषणा गर्नु पूर्व नै योग्यता पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न आयोगले भनेको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update