Sagun Khabar
बैतडीबाट ५ सय ७६ टन जडीबुटी निकासी 

बैतडी–बैतडीबाट गत आर्थिक बर्ष २०८०÷८१ मा ५ सय ७६ टन जडीबुटी निकासी भएको छ । एक बर्षको अवधिमा तेजपत्ता, सिमजडी, चुत्रो, सुगन्धवाल, अमला, रिट्ठा, हर्रोबर्रोलगायतका एक दर्जन जडीबुटी निकासी हुँदा १६ लाख ७१ हजार २१० रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

जिल्लाका १० ओटै स्थानीय तहबाट उक्त परिमाणको जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदनप्रसाद जोशीले बताए । जिल्लामा दुर्लभ वनस्पती र आयुर्वेदजन्य जडीबुटी पाइने गरेको जोशीले बताए । 

Atrya hospital

सबैभन्दा बढी निकासी हुने जडीबुटीमा किरमडाको डाँठ र जरा तथा रिट्ठा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । जडीबुटी प्रशोधन केन्द्र नहुँदा यहाँका बहुमूल्य जडीबुटीहरु भारत निकासी हुने गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट संकलन गरिएको जडीबुटी नेपालगन्ज नाकाको बाटो हुँदै भारत निकासी हुने गरेको बताइएको छ । 

गत आर्थिक बर्ष २०८०÷८१ मा जिल्लाबाट ९७ हजार ६४० क्युफिट काठ र ३ सय ७८ टन सल्लाको खोटो निकासी भएको छ । काठ निकासीबाट २६ लाख २६ हजार ७५५ रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी जोशीले बताए । 

३ सय ७८ टन सल्लाको खोटो निकासी हुँदा पाँच लाख ८९ हजार ९८३ रुपैयाँ राजस्व संकलन भएको डिभिजन वन कार्यालयले जनाएको छ । 

दुर्लभ वनस्पति तथा जडीबुटीको अवैध चोरी निकासी रोक्नुपर्नेमा यहाँका स्थानीयहरुले जोड दिएका छन् । बैतडीमा पाइने जडीबुटीलाई स्वदेशमै प्रशोधन गर्ने व्यवस्था मिलाउन सके रोजगारी समेत प्राप्त हुने थियो । तर यो तर्फ सरकारको ध्यान जान नसकेको स्थानीयहरुको गुनासो रही आएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०८:११
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update