Sagun Khabar
बैतडीको ढोल्यामोड–हाट सडक अवरुद्ध 

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने ढोल्यामोड–हाट सडक अवरुद्ध भएको छ । उक्त सडकको ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको स्थानीय पुरनसिंह ऐरले बताए । 

शनिबार रातिदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको स्थानीयहरुले बताएका छन् । सडक अवरुद्ध हुँदा पुर्चौंडी पुग्ने यात्रुहरुलाई समस्या भएको छ । ढोल्यामोडदेखि हिँडेर जानुपर्ने बाध्यता रहेको स्थानीयहरुले बताएका छन् । 
ढोल्यामोड–हाट सडकको खामोहाले, गोफाखोला नजिक, सनगाउँ, बडगाउँ विद्यालय नजिकै पहिरो खसेको ऐरले बताए । अवरुद्ध सडक सुचारु नहुँदा स्थानीयबासिन्दाहरु मारमा परेका छन् । 

चाडपर्वका लागि परदेशबाट घर फर्केकाहरु समेत ढोल्यामोडबाट पैदल हिँड्न बाध्य भएका बताइको छ । उक्त सडकमा खसेको पहिरो पन्छ्याउनका लागि कसैले पहल नगरेको स्थानीयहरुले गुनासो गरेका छन् । 

Atrya hospital

सडक अवरुद्ध हुँदा आकस्मिक बिरामीहरुलाई समेत समस्या भएको छ । आकस्मिक बिरामीहरुलाई अन्यत्र लैजान बोकेर लैजानुपर्ने अवस्था सिर्जना भएको ऐरले बताए । उनले भने ‘म धनगढीबाट बिरामीको उपचार गरेर आए । सडक अवरुद्ध हुँदा सबै सामान गाडीमै छोडेर बिरामी बोकेर घरमा पुगे ।’

अवरुद्ध सडक खुलाउनका लागि नगरपालिकाले समेत पहल नगरेको भन्दै आलोचना भइरहेको छ । पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने सडक अवरुद्ध हुँदा दैनिक सैयौं यात्रुहरुले सास्ती भोग्नुपरीरहेको स्थानीयहरुले बताएका छन् । 

तर नगरपालिकाले भने सडक सुचारु गर्नका लागि पहल भइरहेको भएपनि धेरै ठाउँमा पहिरो जाँदा समस्या भएको जनाएको छ । निर्माण कम्पनीले सडक चौडा पार्ने क्रममा नयाँ कटिङ गरेको र नयाँ कटिङ गरेका धेरै ठाउँमा पहिरो खसेको पुर्चौंडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले बताए । सडक सुचारुका लागि निर्माण कम्पनीसंग आग्रह गर्दा कुनै सुनुवाई नभएको उनले बताए । उनले भने ‘हामीले सडक सुचारु गर्नका लागि पालिकाको जेसीबीले निरन्तर रुपमा काम गराइरहेका छौं । तर ठूलो पहिरो आएका कारण हाम्रो काबुभन्दा बाहिर गएको छ । निर्माण कम्पनीले आफ्ना मेसिनहरु प्रयोग गर्न मानेको छैन् ।काम गरेको पैसा पाएका छैनौं भनेर कम्पनीले काम गरिरहेका छैन् ।’

ढोल्यामोड–हाट सडक स्तरोन्नतीको काम भइरहेको छ । सडक चौडा गर्ने क्रममा नयाँ कटिङ गरेका ठाउँमा पहिरोको जोखिम बढी देखिएको छ । यो सडक अन्तर्गत हाटतर्फको ५ किलोमिटर स्तरोन्नतीको काम जगदम्बा बिल्डर्सले गरिरहेको छ । सडक निर्माण कार्य पूरा नहुञ्जेलसम्म सडकमा खसेको पहिरो पन्छ्याउने काम पनि उसैको हुने पूर्वाधार विकास कार्यालय बैतडीका इन्जिनियर नरेश भुलले बताए । 

सडकमा खसेको पहिरो पन्छ्याउनका लागि निर्माण कम्पनीसंग समन्वय भइरहेको उनले दाबी गरे । 
 


 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update