सुख्खा पहिरोमा परेर बझाङमा एक वृद्धको मृत्यु 
                        
                        
                                                
                                            
                                                                    बझाङ –बझाङमा सुख्खा पहिरोमा परेर एक वृद्धको मृत्यु भएको छ ।  केदारस्यूँ गाउँपालिका वडा नम्बर–८ सिलङ्गी घर भएका ७१ वर्षीय रामप्रसाद जोशीको आइतबार घर नजिकै खसेको सुख्खा पहिरोमा परेर मृत्यु भएको हो । 
आइतबार दिउँसो करिब ३ बजे घरमाथिको जंगलमा दाउरा काट्न गएका बेला जोशीलाई एक्कासी खसेको ढुंगासहितको सुख्खा पहिरोले बेपत्ता बनाएको केदारस्यूँ गाउँपालिका–८ का वडा अध्यक्ष सुरेशबहादुर जेठाराले जानकारी दिए । 
आइतबार दिउँसो ३ बजेबाट पहिरोमा परि बेपत्ता भएका जोशीको शव सोमबार बिहान फेला परेको वडा अध्यक्ष जेठाराले बताए ।
मृतक जोशीका छोराहरु भारतमा भएकाले मंगलबार मात्रै उनको अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।
 
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०९:२४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
