Sagun Khabar
पञ्चेश्वर स्वास्थ्यचौकीमा भिडियो एक्सरे मेसिन खरीदका लागि ४ लाख बढी रकम संकलन 

बैतडी–बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीले भिडियो एक्सरे मेसिन खरीद लागि सञ्चालन गरेको सहयोग अभियान अन्तर्गत ४ लाख बढी रकम संकलन भएको छ । ५ दिनसम्म सञ्चालन गरिएको अभियानअन्तर्गत ४ लाख ६ हजार ९९४ रुपैयाँ संकलन भएको स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताए । 

दुर्गमका आमाहरुको ज्यान जोगाउने अभियान अन्तर्गत भिडियो एक्सरे मेसिन खरीदका लागि सहयोग अभियान सञ्चालन गरिएको सार्कीले बताए । स्वास्थ्यचौकीमै भिडियो एक्सरे मेसिन राखेर गर्भवती आमाहरुको स्वास्थ्य परीक्षण गर्दा समयमै जटीलता पत्ता लाग्ने भएकाले यो अभियान सञ्चालन गरिएको उनले बताए । 

स्थानीय सरकारले स्वास्थ्यचौकीमा भिडियो एक्सरे मेसिन सञ्चालनका बिषयमा चासो नदिँदा स्वास्थ्यचौकी प्रमुख सार्कीले फेसबुकमार्फत सहयोग अभियान सञ्चालन गरेका थिए । 

Atrya hospital

अभियान अन्तर्गत संकलन भएको रकमले केही दिनभित्रै भिडियो एक्सरे मेसिन किन्ने योजना रहेको बताइएको छ । करीब ३ लाख ४० हजारको लागतमा भिडियो एक्सरे मेसिन खरीद गर्न सकिने सार्कीले बताए । बाँकी रहेको रकमले अटोमेटिक इसीजी मेसिन खरीद गर्ने योजना रहेको छ । 

आँफै अटोमेटिक रिपोर्ट दिने इसीजी मेसिन खरीद गर्ने र यसले नागरिकहरुलाई सहज हुने सार्कीले बताए । 

गर्भ चेकजाँचका लागि स्वास्थ्यचौकीमा आउने आमाहरुलाई लक्षित गरेर भिडियो एक्सरे सेवा सञ्चालन गर्ने तयारी गरिएको हो । भिडियो एक्सरेले गर्भमा रहेको बच्चाको अवस्था र आमाको अन्य स्वास्थ्य अवस्थाको बिषयमा थाहा हुने गर्दछ । केही जटीलता देखिएमा सुविधासम्पन्न अस्पतालमा रेफर गर्न सकिन्छ । यसले आमा र बच्चाको ज्यान जोगाउन मद्दत गर्ने स्वास्थ्यचौकी प्रमुख सार्कीले बताए । 

भिडियो एक्सरे मेसिन सञ्चालनका लागि स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य कार्यालयले तालिमको व्यवस्थापन गर्ने बताइएको छ । 

दुर्गमका नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि आफूले सक्दो पहल गरिरहेको सार्कीले बताए । भिडियो एक्सरे मेसिन खरीद अभियानमा समेत आफूसहितका स्वास्थ्यचौकीका कर्मचारीहरुले सहयोग गरेको उनले बताए । 

यसअघि उनले आफ्नै लगानिमा स्वास्थ्यचौकीमा सेन्सरयुक्त सीसीटीभी क्यामेरा जडान गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०८:५९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update