Sagun Khabar
बैतडीको मेलौलीका विभिन्न स्थानमा चितुवा देखिएपछि स्थानीयबासी त्रसित

बैतडी–बैतडीको मेलौली नगरपालिका वडा नं २,३,७,८ र ९का विभिन्न क्षेत्रमा चितुवा देखिएपछि स्थानीयबासिन्दाहरु त्रसित बनेका छन् । दिउँसो समयमा चितुवा देखिन थालेपछि स्थानीयहरु त्रसित बनेका हुन् । 

गाउँबस्ती नजिकै चितुवा देखिन थालेपछि स्थानीयहरु त्रसित बनेका मेलौली २ का स्थानीय  भुपेन्द्र ठगुन्नाले बताए । गएको १५ दिन यतादेखि मेलौली नगरपालिका वडा नं २ र ३ को सीमाना स्यालतडी क्षेत्रमा चितुवा देखिन थालेको उनले बताए । 

Atrya hospital

स्यालतडी क्षेत्रमा चितुवा देखिन थालेपछि मेलौली नगरपापालिका वडा नं २ को कार्यालयले एक सूचना निकालेर सतर्कता अपनाउन आग्रह गरेको छ । वडाले जारी गरेको सूचनामा मेलौली नगरपालिका वडा नं २ र ३ को सीमाना स्यालतडीमा चितुवा देखिएकाले उक्त क्षेत्रमा जाँदा सतर्कता अपनाउन भनेको छ । 

घाँस–दाउरा जाँदा र अन्य कामका लागि बाटोमा हिड्दा समेत ख्याल गरेर हिड्न वडा कार्यालयले सबैलाई आग्रह गरेको मेलौली नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्णदत्त भट्टले बताए । 

यस्तै डिभिजन वन कार्यालय अन्तर्गतको मेलौली कुलाउ सवडिभिजन वन कार्यालयले पनि एक सूचना जारी गर्दै मेलौली नगरपालिका वडा नं २, ३, ७,८ र ९का खोला किनार क्षेत्रहरुमा चितुवा सक्रिय रहेको जनाएको छ । यी वडाहरुका सुर्नया नदी किनारका बासिन्दाहरुलाई चितुवाको आक्रमणबाट बच्नका लागि सूचनामा आग्रह गरिएको छ । यी क्षेत्रहरु पहिलादेखि नै चितुवा प्रभावित क्षेत्र भएकाले रातिको समयमा बाहिर ननिस्कन र हिँडडुल नगर्न आग्रह गरिएको छ । 

जिल्लाको तल्लोसोराड क्षेत्रमा यो भन्दा पहिला पनि चितुवाले आतंक मच्चाएका कारण स्थानीयहरुमा त्रास पैदा भएको हो । २०६८ साल यता चितुवाको आक्रमणबाट मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाका विभिन्न स्थानमा २५ जनाले ज्यान गुमाइसकेका छन् । ती क्षेत्रहरुमा चितुवाको आक्रमणबाट १३ जना घाइते भएका छन् । 

यही अवधीमा १२ चितुवा समेत मरेका छन् । ७ चितुवा पासोमा परेर मरेका छन् भने ३ ओटा प्राकृतिक कारणले मरेका छन् । २ ओटा चितुवा चोटपटक लागेर मरेका डिभिजन वन कार्यालयका सूचना अधिकारी मदनप्रसाद जोशीले बताए । 
 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update