Sagun Khabar
ग्रामीण सडकमा जोखिमैजोखिम  

बैतडी –बैतडीका ग्रामीण सडकमा जोखिम बढ्दै गएको छ । बर्षातको समयमा ग्रामीण कच्ची सडकमा सवारी साधन सञ्चालनमा निकै जोखिम बढेको सवारी चालकहरुले बताएका छन् । ग्रामीण कच्ची सडकहरु स्तरोन्नती नहुँदा सवारी साधन सञ्चालनमा निकै जोखिम बढेको सवारी चालक रामबहादुर बिष्टले बताए । 

जिल्लाको सतबाँझ–सुर्नया सडकमा स्तरोन्नतीको काम भइरहेको छ । स्तरोन्नती कामको सिलसिलामा सडक चौडा पार्ने काम भइरहेको छ । तर बर्षातको समयमा उक्त सडकको ठाउँठाउँमा पहिरो खस्दा सवारी साधन सञ्चालनमा निकै समस्या भएको बिष्टले बताए । उनले भने ‘सतबाँझ–श्रीभावर सडक अन्तर्गत सुर्नयाको केन्द्र सम्म जोड्ने बाटोमा ठाउँठाउँमा पहिरो छ । पहिरोका कारण सवारी साधन सञ्चालनमा समस्या छ ।’

Atrya hospital

सुर्नया गाउँपालिकाको मोतीनगर जोड्ने सडकमा पनि बर्षातको समयमा सवारी साधन चलाउन निकै समस्या रहेको छ । बर्षातले सडक ठाउँठाउँमा भत्किएकाले जोखिम मोलेर सवारी साधन सञ्चालन गर्नुपरीरहेको सवारी धनी अम्बादत्त अवस्थीले बताए । 

जिल्लाको पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने श्रीभावर –हाट सडकखण्डमा पनि अवस्था उस्तै रही आएको छ । बर्षातको समयमा ठूलो बसहरु सञ्चालन गर्न नसकिएको यातायात व्यवसायीले बताएका छन् । 

जिल्लाको सिगास गाउँपालिकाका विभिन्न वडा जोड्ने ग्रामीण कच्ची सडकमा समेत बर्षातको समयमा सवारी साधन चलाउन मुस्किल हुने गरेको सवारी चालकहरुले बताएका छन् । 

देहीमाण्डौं–गिरेगडा, सिल्लेगडा–कटौजपानी, मेलौली–पञ्चेश्वर लगायतका सडकमा बर्षातको समयमा जोखिम मोलेर सवारी साधन सञ्चालन गर्नुपर्ने अवस्था रही बताइएको छ । 

चाडपर्वको मुखमा ग्रामीण कच्ची सडकहरु पूर्ण रुपमा सञ्चालन नहुँदा यात्रुहरु महंगो भाडा तिर्न बाध्य भएका छन् । जोखिम मोलेर सवारी साधन सञ्चालन गर्नुपरेको भन्दै यातायात व्यवसायीले आफूखुसी भाडा असुल्ने गरेका छन् । 

सतबाँझ–श्रीभावर सडक अन्तर्गत सुर्नया गाउँपालिकाको रीगा सम्म ५ सय भाडा असुल्ने गरिएको छ । सतबाँझदेखि २० किलोमिटर दुरी जिपमा यात्रा गर्दा यात्रुहरुले ५ सय भाडा तिर्नुपर्ने अवस्था रही आएको छ ।  
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०८:४९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update