Sagun Khabar
चाडपर्वको मुखमा सुर्नयाका तीन युवाको मृत्युले गाउँमा शोक 

बैतडी–तीन दिनको अन्तरालमा बैतडीको सुर्नया गाउँपालिका घर भएका तीन जना युवकको मृत्यु भएको छ । चाडपर्वको मुखमा युवकहरुको मृत्यु भएपछि अहिले सुर्नयाका गाउँहरु शोकमा डुबेका छन् । 

सुर्नया गाउँपालिका ४ पालिगडा घर भएका २५ बर्षीय राजेश साउँदको गएको शनिबार कैलालीको अत्तरीयामा मृत्यु भएको थियो । भारतबाट रोजगारी गरेर घर फर्कदै गरेका राजेशको मृत्यु भएको हो ।

राजेशको मृत्युपछि उनको घरपरिवारको विचल्ली भएको छ भने गाउँ शोकमा डुबेको स्थानीय समेत रहेका शिक्षक बिर साउँदले बताए । मृतक साउँदका घरमा श्रीमती, दुई छोरा र बुढेसकालका आमा रहेका छन् । 

Atrya hospital

घरमा कमाउने मान्छेको निधन भएपछि अहिले उनको परिवारका लागि किरिया खर्च जुटाउन सहयोग अभियान थालिएको छ । 

यस्तै बैतडीको सुर्नया गाउँपालिका वडा नं ७ पत्थरकोट घर भएका लक्ष्मण लुहारको पनि गएको शनिबार भारतमा मृत्यु भएको थियो । 

३ बर्ष पहिलादेखि भारतको बेंगलोरमा रोजगारी गर्दै आएका लुहारको निधनले अहिले पत्थरकोट गाउँ शोकमा रहेको स्थानीय हिक्मत कुँवरले जानकारी दिए । 

दुई जना युवकको निधन भएको खबर सेलाउन नपाउँदै सुर्नया गाउँपालिका–४ नोडालेक घर भएका अन्दाजी २०÷२१ बर्षीय सोनु महराको मृत्यु भएको स्थानीय प्रिन्स महराले जानकारी दिए । 

भारतको पानीपथमा काम गर्दै आएका महराको आइतबार राति मृत्यु भएको र सोमबार घरपरिवारलाई खबर आएको उनले बताए । महराको दुर्घटनामा परी मृत्यु भएको भनिएपनि शवको प्रकृति हेर्दा त्यस्तो नदेखिएको महराले बताए । उनको शव रेलको लिकमा फेला परेको थियो । 

मृतक महराका बुवा रोजगारीको सिलसिलामा पहिला नै भारतबाट बेपत्ता भएका थिए । घरमा एक्ली आमा र मानसिक समस्या भएका दाजुमात्रै रहेकाले मृतकको परिवार निकै समस्या रहेको स्थानीय केशव भट्टले बताए । 

घरपरिवार चलाउनका लागि भारत गएका छोराको उतै निधन भएपछि उनकी आमा विक्षिप्त बनेकी छन् । सोनु महराको मृत्युको खबरले गाउँ शोकमग्न भएको स्थानीयहरुले बताएका छन् । 

ओल्के, गौरा जस्ता चाडपर्वहरु नजिक आएका बेला एकै पालिकाका तीन युवकको मृत्यु भएपछि अहिले सुर्नया गाउँहरु शोकमा डुबेका छन् । दुई जनाको रोजगारीको सिलसिलामै भारतमै मृत्यु भएको छ भने एक जनाको भारतबाट फर्किदै गर्दा मृत्यु भएको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update