Sagun Khabar
बैतडी अस्पतालबाट रेफर भएका बिरामीहरुको केएमसी अस्पतालमा निशुल्क उपचार गरिने 

बैतडी–जिल्ला अस्पताल बैतडीबाट रोगको पहिचान भई रेफर गरिएका बिरामीहरुको केएमसी अस्पताल काठमाण्डौंमा निशुल्क उपचार गरिने भएको छ । सांसद डा. सुनिलकुमार शर्माको बिशेष पहलमा बैतडीसहित ९ जिल्लाका बिरामीहरुको निशुल्क उपचार गर्ने प्रबन्ध मिलाएको नेपाली कांग्रेस बैतडी क्षेत्र नं (ख)का क्षेत्रीय सभापति शिवराज भट्टले जानकारी दिए । 

जिल्ला अस्पातलमा भर्ना भई रोगको पहिचान भएका र अन्यत्र उपचारका लागि रेफर भएका बिरामीहरुको केएमसी अस्पतालमा निशुल्क उपचार गरिने क्षेत्रीय सभापति भट्टले बताए । 

Atrya hospital

बैतडीका त्यस्ता बिरामीहरुले नेपाली कांग्रेसका सभापति चतुरबहादुर चन्द र क्षेत्रीय सभापति शिवराज भट्टसंग समन्वय गरेर असोज ५ गते केएमसी अस्पताल काठमाण्डौंमा पुग्नुपर्ने बताइएको छ । 

बिरामीहरुको अप्रेशन र भर्ना हुँदा अस्पातलको चार्ज निशुल्क हुनेछ भने औषधी र अन्य सामानको व्यवस्था भने बिरामी आँफैले गर्नुपर्नेछ । दुर्गमका नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले निशुल्क उपचार सेवा सञ्चालन गरिएको सांसद शर्माले बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत पैसाको अभावमा उपचार गर्न नपाएका बिरामीहरुलाई लक्षित गरेर यो अभियान सञ्चालन गरिन लागेको उनले बताए । 

बैतडीसहित सुदूरपश्चिमका बझाङ, बाजुरा र डोटीका बिरामीहरुको समेत निशुल्क उपचार गरिने सांसद शर्माले बताए । बझाङका बिरामीहरुको भदौ १८ गते, बाजुराका बिरामीहरुको भदौ २४ गते र डोटीका बिरामीहरुको असोज ४ गते निशुल्क उपचार गरिने जनाइएको छ । 

यस्तै गुल्मी, ओखलढुंगा, दैलेख, रामेछाप र खोटाङका बिरामीहरुको समेत केएमसीले निशुल्क उपचार गर्ने प्रबन्ध मिलाएको सांसद शर्माले बताए । 

यसअघि सांसद शर्माको पहलमा केएमसीले गत माघमा पनि बैतडीको पाटन र दोगडाकेदारमा बृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । उक्त शिविरबाट रोग पहिचान भई अप्रेशन गर्नुपर्ने अवस्था भएका बिरामीहरुको केएमसी अस्पताल काठमाण्डौंमा निशुल्क उपचार गरिएको थियो ।  
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update