Sagun Khabar
बैतडीका एक युवकको भारतमा मृत्यु 

बैतडी–रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडीका एक युवकको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका–४ नोडालेक घर भएका अन्दाजी २०÷२१ बर्षीय सोनु महराको मृत्यु भएको स्थानीय प्रिन्स महराले जानकारी दिए । 

भारतको पानीपथमा काम गर्दै आएका महराको आइतबार राति मृत्यु भएको र सोमबार घरपरिवारलाई खबर आएको उनले बताए । महराको दुर्घटनामा परी मृत्यु भएको भनिएपनि शवको प्रकृति हेर्दा त्यस्तो नदेखिएको महराले बताए । उनको शव रेलको लिकमा फेला परेको थियो । 

Atrya hospital

मृतक महराका बुवा रोजगारीको सिलसिलामा पहिला नै भारतबाट बेपत्ता भएका थिए । घरमा एक्ली आमा र मानसिक समस्या भएका दाजुमात्रै रहेकाले मृतकको परिवार निकै समस्या रहेको स्थानीय केशव भट्टले बताए । 

घरपरिवार चलाउनका लागि भारत गएका छोराको उतै निधन भएपछि उनकी आमा विक्षिप्त बनेकी छन् । भारतमा समेत कोही आफन्त नभएकाले महराको मृत्युको खबरपछि गाउँका मान्छे भारत गएका बताइएको छ । 

घरपरिवार चलाउन समस्या भएपछि पढाई छोडेर भारत गएका सोनुको मृत्युको खबरले गाउँ शोकमा डुबेको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update