Sagun Khabar
अब शिखरपुर स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं ७ स्थित शिखरपुर स्वास्थ्यचौकीबाट सुुरक्षित गर्भपतन सेवा शुरु भएको छ । ग्रामीण क्षेत्रका आमाहरु असुरक्षित गर्भपतनको मारमा पर्दै गएपछि स्वास्थ्यचौकीले सुरक्षित गर्भपतन सेवा शुरु गरेको हो । 

स्वास्थ्यचौकीबाट १० हप्तासम्म गर्भलाई सुरक्षित रुपमा पतन गर्ने सेवा सुचारु गरिएको स्वास्थ्यचौकीका प्रमुख बीरबहादुर बोहराले बताए । दक्ष तथा तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट उक्त सेवा प्रदान गरिने बोहराले बताए । 

Atrya hospital

असुरक्षित रुपमा गर्भपत गराउँदा आमाको ज्यान समेत जाने जोखिम भएकाले गर्भपतन गराउन चाहने आमाहरुले सुरक्षित रुपमा गर्भपतन गराउनुपर्नेमा बोहराले जोड दिए । नेपाल सरकारले ३ महिनासम्म सुरक्षित गर्भपतन गर्न पाउने कानुनी व्यवस्था गरेको छ । 

शिखरपुर स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा सुचारु भएपछि ग्रामीण भेगका आमाहरुलाई सहज हुने विश्वास गरिएको छ । यसका साथै स्वास्थ्यचौकीमा चौबिसै घण्टा सुरक्षित प्रसुती सेवा, प्रयोगशाला सेवा र अन्य आधारभूत स्वास्थ्य सेवाहरु सञ्चालनमा रहेका छन् । 

शिखरपुर स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा शुरु भएसंगै यो सेवा दिने स्वास्थ्यचौकीको संख्या पालिकामा चार पुगेको छ । यसअघि भौनेली स्वास्थ्यचौकी, बासुलिंग स्वास्थ्यचौकी र रौलेश्वर स्वास्थ्यचौकीबाट सुरक्षित गर्भपतन सेवा सञ्चालन हुँदै आएको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update