Sagun Khabar
भौनेली स्वास्थ्यचौकीले शीघ्र कुपोषित बालबालिकाहरुको खोजी गर्दै 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं ४ स्थित भौनेली स्वास्थ्यचौकीले समुदायस्तरमा गएर शीघ्र कुपोषित बालबालिकाहरुको पहिचान गर्न थालेको छ । 

स्वास्थ्यचौकीले बार्षिक कार्ययोजना बनाएर कुपोषित बालबालिकाहरुको पहिचान गर्ने अभियान सञ्चालन गरेको स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताए । कुपोषित बालबालिकाहरुलाई उपचारको दायरमा ल्याउन सहज होस भनेर स्वास्थ्यचौकीले यो अभियान थालेको उनले बताए । 

Atrya hospital

स्वास्थ्यचौकीले प्रत्येक चौमासिकमा शीघ्र कुपोषित बालबालिकाहरुको पहिचान गर्ने कार्ययोजना बनाएकाले सोही अनुसार काम शुरु गरिएको उनले बताए । साउन २१ देखि २५, मंसिर २१ देखि २५ र चैत २१ देखि २५ सम्म अभियान सञ्चालन गर्ने बार्षिक कार्ययोजनामा उल्लेख गरिएको छ । 

कार्ययोजना अनुसार स्वास्थ्यचौकीको सेवा क्षेत्रभित्र रहेका प्रत्येक टोलमा पुगेर बालबालिकाहरुको जेड स्कोर विधिबाट पोषणको स्थितीका बिषयमा जानकारी लिने काम भइरहेको छ । 

अभियान अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुको तौल लिने, उचाइ नाप्ने, पाखुराको नाप लिने लगायतका कार्यहरु भइरहेका छन् । 

अभियानका क्रममा शीघ्र कुपोषण देखिएका बालबालिकाहरुलाई स्वास्थ्यचौकीको ओटीसी सेन्टरमा ल्याएर उपचार गरिने स्वास्थ्यचौकी प्रमुख महराले बताए । 

अभिभावकहरुलाई समेत बालबालिकाहरुको स्वास्थ्य र पोषणका बिषयमा सचेत बनाउन अभियानले सहयोग पुर्याउने उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १७:५८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update