Sagun Khabar
भिडियो एक्सरे मेसिन खरीदका लागि पञ्चेश्वर स्वास्थ्यचौकीले थाल्यो सहयोग अभियान 

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ स्थित पञ्चेश्वर स्वास्थ्यचौकीले भिडियो एक्सरे मेसिन खरीदका लागि सहयोग अभियान सञ्चालन गरेको छ । दुर्गमको स्वास्थ्यचौकीबाट नागरिकको आधारभूत स्वास्थ्य सेवामा थप पहुँच पुर्याउनका लागि अभियानको थालनी गरिएको स्वास्थ्यचौकीका इञ्चार्ज सुरेश सार्कीले बताए । 

२ लाख ५५ हजारको लागतमा भिडियो एक्सरे मेसिन खरीद सकिने र यसको प्रयोगबाट आमा र बच्चाको ज्यान जोगाउन सहज हुने भएकाले यो अभियान सञ्चालन गरिएको स्वास्थ्यचौकी प्रमुख सार्कीले बताए । 

Atrya hospital

गर्भवती आमाहरुको स्वास्थ्य अवस्थाका बिषयमा समयमै पत्ता लगाउन भिडियो एक्सरे मेसिनले सहज हुने र मेसिन खरीदका लागि अन्यत्रबाट सहयोग नभएपछि आमरुपमा सहयोग अभियान सञ्चालन गरिएको हो । 

पञ्चेश्वर स्वास्थ्यचौकीमा ८ स्वास्थ्यकर्मी र एकजना कार्यालय सहयोगी कार्यरत रहेका छन् । उक्त अभियानमा स्वास्थ्यचौकी प्रमुख सार्कीले ३० हजार सहयोग गर्ने घोषणा गरेका छन् भने अन्य ७ जनाले १० हजारका दरले सहयोग गर्नेछन् । एकजना कार्यालय सहयोगीले अभियानमा ५ हजार सहयोग गर्ने स्वास्थ्यचौकी प्रमुख सार्कीले बताए । 

ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन तल्लीन रहेका स्वास्थ्यचौकी प्रमुख सार्कीले यसअघि आफ्नै व्यक्तिगत लगानीमा स्वास्थ्यचौकीमा सेन्सरयुक्त सीसीटीभी क्यामेरा जडान गरेका छन् । 

पञ्चेश्वर स्वास्थ्यचौकीले भिडियो एक्सरे मेसिन खरीदका लागि अभियान शुरु गरिसकेको र उक्त मेसिन सञ्चालन गर्ने जनशक्तिलाई स्वास्थ्य कार्यालयले तालिमको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको स्वास्थ्यचौकी प्रमुख सार्कीले बताए । 

पञ्चेश्वर स्वास्थ्यचौकीमा भिडियो एक्सरे मेसिन खरीदका लागि सहयोग अभियानमा जुनसुकै व्यक्तिहरुले समेत सहयोग गर्न सक्ने बताइएको छ । मेसिन खरीदका लागि सहयोग गर्न चाहने महानुभावहरुले पञ्चेश्वर स्वास्थ्यचौकीको नबिल बैंकमा रहेका खाता नम्बर ७६००१७५०१४८० मा रकम जम्मा गर्न सक्नेछन् । 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०९:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update