Sagun Khabar
बैतडीको रीम गाउँमा शोकमा शोक थपियो 
फाइल फोटो

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका १ रीममा भीरबाट खसेर एक महिलाको मृत्यु भएको घटनाको आलो घाउ सेलाउन नपाउँदै अर्को घटना भएको छ । 

यही साउन ९ गते घास काट्ने क्रममा भीरबाट लडेर स्थानीय ३५ बर्षीया पार्वती कार्कीको मृत्यु भएको थियो । घर नजिकैको जंगलमा घास काट्ने क्रममा भीरबाट लडेर उनको मृत्यु भएको थियो । 

Atrya hospital

अकालमै ज्यान गुमाएकी कार्कीको शोकमा रहेको रीम गाउँमा फेरि अर्को घटना भएको छ । आइतबार मात्रै भीरबाट खसेको ढुंगा लागेर रीम भदेलगडाकी ४० बर्षीया जुनकीरी भुलको मृत्यु भएको छ । 

१० दिनको अन्तरालमा दुई जनाको ज्यान जाने गरी भएको घटनाले रीम गाउँ शोकमा डुबेको स्थानीय प्रेम कार्कीले बताए । घास काट्नकै लागि महिलाहरुले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रही आएको उनले बताए । उनले भने ‘अहिले हाम्रो गाउँ शोकमा डुबेको छ । १० दिनको अन्तरालमा दुई जना महिलाको ज्यान गएको छ । उनीहरुका घरपरिवारको विचल्ली भएको छ ।’

आइतबार मात्रै भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएकी जानकी भुलका श्रीमान रोजगारीका लागि भारतको पिथौरागढमा रहेका थिए । घरमा अप्रिय घटना भएपछि उनी घर फर्केका आफन्त धनीराम सार्कीले बताए । जुनकीरीको मृत्यु भएपछि दुई छोरा र दुई छोरीको विचल्ली भएको छ । 

भुल परिवारमा ठूलो ब्रजपात परेको सार्कीले बताए । 

यता ३५ बर्षीया कार्कीको निधनले घरपरिवार ठूलो समस्यामा परेको उनका भतिजा प्रेम कार्कीले बताए । लाउँखाउँ भन्ने उमेरमा काकीको भीरबाट लडेर मृत्यु भएपछि घरपरिवार निकै समस्यामा रहेको उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update