Sagun Khabar
प्रसिद्ध वनारसी धाममा महारुद्राभिषेक पूजा लाग्ने 

बैतडी–बैतडीको पाटन नगरपालिका–३ स्थित प्रसिद्ध वनारसी धाम विश्वनाथ ज्योतिर्लिङ्गमा महारुद्राभिषेक पूजा लाग्ने भएको छ । १२ जना ब्राह्मणहरुद्वारा सामूहिक रुपमा महारुद्राभिषेक पूजा गरिने ज्योतिष पण्डित गणेशदत्त पन्तले बताए । 

यही साउन २२ गतेका दिन श्री वनारसी धाम विश्वनाथ सेवा समाजको आयोजनामा महारुद्राभिषेक पूजाको आयोजना गर्न लागिएको हो । 

Atrya hospital

वनारसी धामको महिमाका बारेमा स्कन्द महापूराणको मानसखण्डमा उल्लेख गरिनुका साथै सूर्य पूराण र साम्व पूराणमा समेत यसको महिमाका बारेमा वर्णन गरिएको पण्डित पन्तले बताए । 

भगवान शिवका १२ ज्योतिर्लिङ्गमध्येको विश्वनाथ ज्योतिर्लिङ्ग वनारसी धाममै रहेको पन्तले बताए । पौराणिक सरयु नदी अर्थात सुर्नया नदीको किनारमा अवस्थित वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग भएको नेपालका ऐतिहासिक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य समेत बताएका छन् । 

वनारसी धाममा विश्वनाथ ज्योतिर्लिङ्गको स्थापना गरेर पूजाआजा गर्ने गरिएको छ । श्रावणको महिना धामहरुमा पूजापाठ गर्ने चलन रही आएकाले वनारसी विश्वनाथ धाममा महारुद्राभिषेक पूजाको आयोजना गर्ने तयारी भएको समाजका अध्यक्ष उत्तरबहादुर चन्दले बताए । 

वनारसी धाममा माघ शुक्ल दशमी अर्थात शैल्य दशमीका दिन ठूलो जात्रा लाग्ने गर्दछ । यो जात्रामा हजारौं दर्शनार्थी पुग्ने गरेका छन् ।यस्तै वनारसी धाममा साउनको महिना दर्शन गर्नेहरु पुग्ने गरेका छन् भने गंगादशहरा र अक्षय तृतीयका दिन समेत पूजाआजा गर्ने चलन रही आएको छ । 

यस्तै चैत शुक्ल पक्षमा वनारसी विश्वानाथ धाममा कोटी होमको आयोजना गर्ने गरिएको पण्डित पन्तले बताए । 
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update