Sagun Khabar
साउनमा सिगासधुराको दर्शन, के छ धार्मिक महत्व ? 

बैतडी–बैतडीको प्रसिद्ध धार्मिक स्थलमध्येको सिगासधुरामा साउनको महिनामा दर्शनार्थीहरुको भीड लागेको छ । साउनको महिना सिगासधुराको दर्शनका लागि टाढाटाढाबाट भक्तजनहरु पुग्ने गरेका छन् । 

जिल्लाको सिगास गाउँपालिका मुख्य धार्मिक क्षेत्र सिगास धुराकै नामबाट नामाकरण गरिएको छ । जिल्लाको सबैभन्दा अग्लो ठाउँमा अवस्थित सिगासधुरा धाम सिगास गाउँपालिकामा पर्दछ । सिगासको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकाले त्यहाँ टाढाटाढाबाट समेत भक्तजनहरु पुग्ने गरेका छन् । 

Atrya hospital

समुद्री सतहबाट २ हजार ९ सय मिटर उचाइमा रहेको सिगासधुरा जिल्लाको सबैभन्दा उच्च स्थानमा रहेको धार्मिक स्थल हो । सिगासको कुर्चेनेटा सम्म अहिले कच्ची सडक पुगेको छ । त्यहाँबाट पैदल हिँडेर सिगासधुरा पुग्न सकिन्छ ।

परापूर्वकालमा कैलाशबाट भगवान शिव सिगास धुरामा आएका जनविश्वास रही आएको छ । बोहरा थरका व्यक्तिले सिगास देवता पाएको किम्वदन्ती रहेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए ।
उनले भने ‘सिगासधुरा धामको धेरै ठूलो महत्व रहेको छ । सिगासको दर्शनका लागि टाढाटाढाबाट भक्तजनहरु आउने गरेका छन् ।’

श्रावणको महिनामा सिगासधुराको दर्शनका लागि टाढाटाढाबाट भक्तजनहरु पुग्ने गरेका छन् । श्रावण महिनामा सिगासधुराको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको दर्शनका लागि सिगासधुरा पुगेका केशवदत्त भट्टले बताए । सिगासधुरामा पुगेपछि अलौकिक आनन्दको अनुभूती भएको उनले बताए । 

सिगास धुरामा हरेक बर्ष असोज शुक्ल पक्षको पञ्चमीदेखि पूजा लागेर असोजको शुक्ल अष्टमीमा जात्रा हुने गरेको छ । यस्तै चैत्राष्टमीमा पनि मन्दिरमा जात्रा हुने गरेको पूजारी चुडामणी अवस्थीले बताए । उनले भने ‘सिगास धुरामा भारतबाट समेत दर्शनार्थीहरु पुग्ने गरेका छन् । साउनको महिनामा दर्शन गर्नेहरुको घुइँचो लाग्ने गरेको हुन्छ ।’

प्राकृतिक हिसाबले पनि निकै मनोरम दृश्य भएको ठाउँमा सिगासधुरा धाम रहेको छ । यसको चारैतिर जंगल रहेको छ । सिगासधुरा धाम प्राकृतिक सौन्दर्यताको उपहार रहेको सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । उनले भने ‘सिगास धुरा अलौकिक धाम हो । जहाँ साक्षात भगवान शिवको बास रहेको छ । यहाँका स्थानीयहरुको पनि श्रद्धा र आस्था रहेको छ ।’

जिल्लाको दुर्गम पालिका भनेर चिनिने सिगासमा सिगासधुरा धामप्रति भने स्थानीयहरुको अगाध श्रद्धा रहेको पाइन्छ । सिगासधुरा धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको पूजारी चुडामणी अवस्थीले बताए । उनले भने ‘सिगास धुराको दर्शन गरेमा अहिले सम्म मनोकामना पूर्ण भएको छ । शुद्ध मनले सिगासको दर्शन गरेमा मनोकामना पूर्ण हुन्छ ।’ 
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update