Sagun Khabar
बैतडीका लेन्थवर्करले सुदूरपश्चिमका मुख्यमन्त्री र भौतिक पूर्वाधार मन्त्रीलाई भेटे 

बैतडी –आफूहरुले गरेको कामको पारिश्रमिक पाउनुपर्ने भन्दै बैतडीको पाटन–पञ्चेश्वर सडकका लेन्थवर्कर धनगढी पुगेका छन् । सडक प्रदेश सरकार मातहत गएपछि आफूहरुले काम गरेको पैसा नपाएको भन्दै लेन्थवर्करहरु धनगढी पुगेका हुन् । 

विगत २१ महिनादेखि आफूहरुले काम गरेको पैसा नपाएको र परिवार पाल्न धौ धौ भएको लेन्थवर्कर जयराम भुलले बताए । धनगढी पुगेका लेन्थवर्करहरुले सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी र मुख्यमन्त्री त्रिलोचन भट्टसंग भेटघाट गरेका छन् । भेटका क्रममा दुवै जनाले आफूहरुको व्यवस्थापन गर्ने आश्वासन दिएको लेन्थवर्कर भुलले बताए । उनले भने ‘दुवैजनाले भेटघाटको क्रममा समस्या समाधान गर्छौं भनेका छन् । हाम्रो माग पूरा गरिदिनोस हामीले भनेका छौं । हाम्रो रोजीरोटी खोसियो भनेका छौं ।’

Atrya hospital

यसअघि लेन्थवर्करहरु पारिश्रमिक माग गर्दै बैतडीमा २० दिन अनसन बसेका थिए । लेन्थवर्करका समस्या समाधानका लागि पहल गर्ने सरोकारवालाहरुले प्रतिबद्धता जनाएपछि उनीहरुले अनसन तोडेका थिए । 

पाटन–पञ्चेश्वर सडकमा काम गर्ने १२ जना लेन्थवर्करहरुले प्रदेश सरकारले आफूहरुको रोजीरोटी खोसेको आरोप लगाएका छन् । सडकमा काम गरेर घरपरिवार चलाईरहेको भएपनि प्रदेश सरकारले आफूहरुको पेटमा लात हानेको लेन्थवर्कर लक्ष्मी पन्तले बताइन् । उनले भनिन् ‘हामीलाई सडकमा काम गर्ने बेला सबैले काम गर्नोस भनेका हुन् । अहिले आएर हामीले भनेनौं भनिरहेका छन् । हामी सडक मजदुरको रोजीरोटी खोस्ने प्रयास भईरहेको छ ।’ 
 

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  ०६:४९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update