Sagun Khabar
डेंगु नियन्त्रणका लागि बैतडीमा ‘लार्भा खोज र नष्ट गर’ अभियान 

बैतडी – बैतडीमा डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन भएको छ  । स्वास्थ्य कार्यालयको आयोजना र स्थानीय तहहरुको समन्वयमा ‘लार्भा खोज र नष्ट गर’ अभियान जारी रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए । 

डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि जिल्लाको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गरिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । 

Atrya hospital

लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान जारी रहेको उनले बताए ।

पानीका ड्रम,पानी जम्ने खाडल, पुराना टायर, पानीका बोतल, फुलका गमला, पानी जम्मा हुने ठाउँमा लामखुट्टेले फूल पार्ने भएकाले सरसफाइ गरिएको खोप सुपरभाइजर निरीक्षक भट्टले बताए ।

एडीज जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण फैलिने भएकाले यो रोगबाट बच्ने उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु रहेको स्वास्थ्य प्रमुख भट्टले बताए । उनले भने ‘बर्षातको समयमा पानी जम्ने ठाउँमा लामखुट्टेले फुल पार्न सक्ने भएकाले त्यस्ता कुराहरु ध्यान दिन सकियो भने डेंगुबाट बच्न सकिन्छ ।’

अहिले जिल्लाभरी लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालनमा रहेकाले यो अभियान सरीक हुन स्वास्थ्य कार्यालयले सबैमा आग्रह समेत गरेको छ । 

डेङ्गु भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि लक्षण देखापर्ने गर्दछन् ।

डेंगुबाट बच्नका लागि व्यक्तिगत र वातावरणीय सरसफाइमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने, पानी जमेको भाँडाकुडा सफा गर्नुपर्ने, धेरैदिन सम्म पानी जमा गरेर नराख्ने लगायतका कुराहरुमा ध्यान दिनुपर्ने स्वास्थ्य प्रमुख भट्टले बताए ।   
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update